
पोखरा । पछिल्लो समय अस्पताल र उपचारमा संलग्न चिकित्सक माथि तोडफोड र हातपात हुने घटना बढ्दैै गएको छ । हेटौडा र लमजुङमा चिकित्सक माथि भएको हातपातको घटना सेलाउन नपाउदै फेरि पोखरामा चिकित्सक माथि हातपात भएको छ ।
ब्याक टु ब्याक यस्ता घटना दोहोरिदा नेपालका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु त्रसित बनेका छन ।
पोखरामा लामो समय देखि कार्यरत न्यूरो सर्जन डाक्टर बाल गोपाल कर्माचार्यले आफ्नो सामाजिक संञ्जाल फेसबुक मार्फत जिन्दगीमा पहिलो पटक नेपालमा डाक्टर भएकोमा अफसोच र ग्लानी भएको स्टाटस लेखेर पोस्ट गरेको छन ।
उनले सोमबार भएको उक्त घटनामा आफ्नै अगाडी आफ्नो चिकित्सक साथी कुटिएको देख्दा दुःख लागेको बताए । “पोखराको मणिपाल शिक्षण अस्पताल रिफरल सेन्टर भएकोले सिरियस केस आउने गर्छ । कति बिरामी उपचार पछि राम्रा हुन्छन,कति बिरामीलाई हामीले बचाउन नसक्ने अवस्था पनि आउँछ ।” उनले भने ।
अस्पताल जस्तो संवेदनशील क्षेत्र रणभूमि जस्तो भएको बताउदै यस्तो वातावरण कार्य गर्न कठिनाई हुने चिकित्सकहरुको भनाई छ ।
सरकारले यस्ता घटनामा संलग्न भएकाहरुलाई राजनितिक आडमा कार्वाही नगरी छाड्ने र चिकित्सक कुटिदै जाने हो भने नेपालमा कार्यारत चिकित्सकहरु बिस्तारै पलायन हुने चिकित्सकहरुले आफ्ना सामाजिक संञ्जाल मार्फत अभिव्यक्ती दिएका छन ।
लमजुङ सुन्दरबजारका ५७ वर्षीया सुकमाया दुरालाई मृगौलाको समस्या भएर उपचारको लागि मणिपाल अस्पतालको इमेरजेन्सी लगिएको थियो । समस्या क्रिटिकल भएकोले उनलाई आइसियुमा राखेर उपचार गर्ने क्रममा नै उनको मृत्यु भएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुको भनाई अनुसार उनलाई मुटुको पनि समस्या भएको थाहा हुन आएको छ ।
बिरामीको मृत्यु पश्चात हातपातमा संलग्न भएको आरोपमा पोखरा ५ मालेपाटनका विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभीको फुटेजमा देखिएको आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।