१०५ वर्षीय इन्द्रकला गौतमलाई महानगरमाता सम्मान,गौतमका ९७ सन्तान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगरपालिकाले वडा नं. ७ का १०५ वर्षीय इन्द्रकला गौतमलाई महानगरमाताका रुपमा सम्मान गरेको छ । सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौं भन्ने नाराका साथ मनाईएको ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गौतमलार्ई महानगरपालिकाको सामाजिक विकास महाशाखाले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद रु १५ हजार सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरिन् ।
इन्द्रकला गौतमको जन्म वि.स.१९७५ फागुनमा पुतलीवजार नगरपालिका १३ मा भएको थियो । उनको विवाह शुक्लगण्डकी १२ तनहुँका तेजनारायण गौतमसँग ७ वर्षको उमेरमा भएको थियो । उमेरले ३३ वर्षको हुदा श्रीमान गुमाएकी गौतमका ४ सन्तान जन्मिसकेका थिए । नगरमाताबाट सम्मानित गौतमका २ छोरा र २ छोरीबाट जम्मा ९७ जनाको पारिवारिक सञ्जाल छ ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले जेष्ठ नागरिकहरु जिउँदो इतिहास भएको बताईन् । उनले पश्चिमा देशको संस्कार संस्कृति भित्रिएको कारण संयुक्त परिवार पनि एकल परिवारमा परिणत हुदै गएकोले जेष्ठ नागरिकहरु सहाराविहिन बन्दै गएको बताईन् । अग्रजलाई सम्मान गर्ने हाम्रो संस्कार पछिल्लो समयमा वेवास्ता गर्ने प्रवृत्ति बढेकाले यस्तो गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड छ ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले जेष्ठ नागरिक ऐन २०६३ अनुसार ६८ वर्ष कटेका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य विमाको कार्यक्रम समेत सञ्चालन गरिरहेको बताईन् । उनले सन्तानहरुमा नैतिक शिक्षाको कमिको कारण जेष्ठ नागरिक अपहेलित हुनुपरेको बताउँदै नैतिक शिक्षा आजको आवश्यकता भएको औंल्याईन् । उनले जेष्ठ नागरिकको सम्मानको लागि महानगरका सबैभन्दा जेष्ठ व्यक्तिलाई २०७६/७७ सालदेखि नगर मातापिताका रुपमा सम्मान कार्यक्रम गरिदै आएको बताईन् ।

वडा नं. ७ का अध्यक्ष राममोहन आचार्यले वडाबाट इन्द्रकला गौतमलाई महानगरमाताको रुपमा सम्मान गर्न पाएकोमा खुसि व्यक्त गरे । उनले महानगरमातामा रहेका ज्ञान र सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्