पोखरामा एन्डयुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक दौड प्रतियोगिता हुने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा/पोखरामा पहिलो पटक एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि ९ गतेसम्म पोखरामहानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा अमेरिका,भारत,सिङ्गापुर,अष्ट्रेलिया,इन्डोनेसिया,डेनमार्क,युके,न्युजिरल्याण्ड,फिलिपिन्स,नेपाल लगायत ११ देशका ८१ प्रतिस्पर्धीले सहभागिता जनाउने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा पहिलो दुई दिन अभ्यास र अन्तिम दिन प्रतियोगिता हुने पोखरा एन्डयुरोका दौड निर्देशक सुनिल चन्द्र शर्माले जनाए ।

खेलकुद र पर्यटनलाई टेवा पुराउनको लागि प्रतियोगिता आयोजना गर्न लागेको डन टिल डस्कका निर्देशक छिमी उक्रेन गुरुङले बताए ।
“प्रतियोगिता आयोजना गर्न धेरै खर्च लाग्ने भएकोले हामीले स्थानीय सरकार संग पनि सहयोगको लागि निरन्तर प्रयास गरिरहेको छौ ।” निर्देशक गुरुङले भने । उनका अनुसार उक्त प्रतियोगिताको लागि हाल सम्म ५० लाख खर्च भई सकेको र प्रतियोगिता सम्पन्न हुने. मिति सम्म थप २० लाख गरि ७० लाख खर्च हुने अनुमान छ ।

प्रतियोगिता हुने स्थलमा नै आयोजना भएको पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न आफ्नो वडालाई चुनेकामा खुसी व्यक्त गर्दे पुर्णरुपमा आफ्नो व्याक्तिगत र संस्थागत सहयोग रहने बताए ।

त्यस्तै कार्यक्रममा कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले अन्तराष्ट्रियस्तरका यस्ता प्रतियोगिताले पोखराको पर्यटन प्रर्वद्धनमा टेवा बताउदै कास्की जिल्ला साइक्लिङ संघ यो प्रतियोगिता सफल बनाउन सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिता समुन्द्री सतहबाट १४०० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्