‘श्रीकृष्ण माविलाई नमुना विद्यालय बनाउन वडा कार्यालय जिम्मेवार’:वडाध्यक्ष आचार्य

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

विद्यालयलाई खेलकुद तथा शैक्षिक सामाग्री सहयाेग

पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ७ मा रहेकाे श्रीकृष्ण माविलाई  नमुना विद्यालय बनाउन वडा कार्यालय जिम्मेवार रहेकाे पाेखरा ७ का वडाध्यक्ष राममाेहन आचार्यले बताएका छन् ।

वडाकाे तर्फबाट विद्यालयमा मंगलवार खेलकुद तथा शैक्षिक सामग्री सहयाेग गर्दै उनले वडामा रहेकाे एक मात्र सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयलाई सबैकाे साझा र नमुना विद्यालय बनाउनमा वडा कार्यालय सधैं जिम्मेवार रहने बताएका हुन् ।

उनले विद्यालयकाे स्तराेन्नती र सर्वाङ्गिण विकासकाे लागि वडा तत्पर रहेकाे भन्दै आगामी दिनमा विद्यालयमा १० जाेड दुई कक्षा सञ्चालनका निमित्त याेजना बनाएर वडामा आउन विद्यालय प्रशासनलाई आग्रह समेत गरे । जसका लागि वडाले समन्वय गर्ने उनकाे प्रतिवद्वता छ ।

विद्यालयले आगामी पौष ४ गते विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारीमा जुटेकाे छ । यसकाे छेकाेमा वडाले विद्यालयलाई खेलकुद तथा शैक्षिक सामाग्री सहयाेग गरेकाे हाे ।

वडाले विद्यालयमा दुई वटा फूटवल, दुई वटा भलिवल, व्याडमिन्टन तिन सेट र १० दर्जन कपिहरु सहयाेग गरेकाे छ भने केहि कार्यालय प्रयाेजनका लागि फर्निचरका सामानहरु सहयाेग गरेकाे छ ।

वडाध्यक्ष आचार्यले विद्यार्थीहरु पढाईका अतिरिक्त क्रियाकलापमा  पनि अगाडी बढ्नुपर्छ  भन्ने उद्देश्यले खेलकुद तथा शैक्षिक सामाग्री सहयाेग गरेकाे बताए ।

विद्यालयको प्राङ्गणमा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, वडा सदस्य अर्जुन थापा र वडा सचिव राजेन्द्र प्रसाद पौडेलले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक टीकाराम लामिछानेलाई सामाग्री हस्तान्तरण गरेका हुन्।

१० कक्षासम्म अध्यापन हुने विद्यालयमा हाल ५०० भन्दा विद्यार्थीहरु अध्ययरत छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्