पोखरा र भक्तपुर उवा संघबीच भगिनी सम्बन्ध स्थापना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा र भक्तपुर उद्योग वाणिज्य संघबीच भगिनी सबन्ध स्थापित भएको छ ।

शुक्रबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति र भक्तपुरका अध्यक्ष शिवप्रसाद मानन्धरले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा र भक्तपुर दुवै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हुन् । पोखरा नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत हो ।

भगिनीसम्बन्ध स्थापित गरेसँगै दुवै उद्योग वाणिज्य संघले भक्तपुर र पोखरा क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसको अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहनुका साथै सोसम्बन्धी स्रोतहरु खोजी गर्न क्रियाशील रहनेलगायतका समझादारी गरिएको पोउवा संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

समझदारीपत्रमा भ्रमण तथा ज्ञान आदान–प्रदान, उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरमा आउने विभिन्न चुनौतिहरु सामनाको लागि एउटै आवाज, दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँ नयाँ गतिविधिहरुको अनुभव र सूचना आदानप्रदान,राष्ट्रिय स्तरको औद्योगिक व्यापार मेलामा एकआपसमा सघाउने सहमति भएको पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बतए ।

पोउवा संघका महासचिव बलराम आचार्यका अनुसार साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

यस्तैआआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा व्यापार प्रवद्र्धनका लागि दुवै संघले एकआपसमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

भगिनी सम्बन्ध स्थापनाको लागि आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भगिनी सम्बन्ध स्थापनाबाट दुवै उद्योग वाणिज्य संघलाई फाइदा मिल्ने बताए ।

उनले पोखराको व्यापारको सुरुवात नै भक्तपुरबाट आएका व्यवसायीबाट भएको स्मरणमात्र गरेनन्, हस्तकला र पर्यटन व्यवसायमा थप सहकार्यको सम्भावना पनि औंल्याए ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले भिजन र मिसनसहित स्थापित भगिनी सम्बन्ध फलदायी हुने बताए ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वशंकर पालिखेले ख्वपः बाट आएका व्यवसायीहरुलाई स्वागत गर्दै भगिनी सम्बन्ध बलियो बनाउन सानासाना काममा ध्यान दिनुपर्ने बताए । ८ औं शताब्दीको सुरुमै भक्तपुरबाट आफ्ना पुर्खासमेत पोखरा आएको पनि उनले स्मरण गरे ।

भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष युवकराज भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघले ठूला व्यवसायीको हकहितमा मात्र काम गर्ने गरेको गुनासो गरे । अर्का पूर्वअध्यक्ष कृष्णप्रसाद अवालले सम्पदाको लागि प्रख्यात भक्तपुर र पोखराबीच पर्यटन उद्योग बिस्तारमा सहकार्य हुनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले भक्तपुर र पोखराको सहकार्यलाई सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन तथा व्यवसायीहरुको हकहित रक्षाको लागि उपयोग गर्नुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव बलराम आचार्यले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्