क्यानडा पठाइदिन्छु भनी ठगेकाे आराेपमा दुई विदेशीसहित ६ जना पाेखराबाट पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पाेखरामा पक्राउ परेका छन् ।

  पोखरा मनपा वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपाल नगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर रहेका छन् ।

यसै गरि पोखरा १३ पाटनबेसी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा  ९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय पनि पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराकी पार्वती सुनारले मेरी छोरी क्यानडामा छ, सिधैं क्यानडाको भिषा निकालिदिन्छ र राम्रो काममा लगाइदिन्छ भन्दै प्रलोभन देखाउने गरेको आरोप छ ।

उनले अन्तर्वार्ता लिन विदेशबाट मानिसहरु आएका छन् भन्दै प्रतिव्यक्ति दुई हजार रुपैयाँ अन्तर्वार्ता शुल्क उठाएको आरोप छ । अन्तर्वार्तामा पास भएपछि ३० लाख रुपैयाँ दिनुपर्ने भन्ने गरेको आरोप उनीहरुमाथि छ ।

उनीहरुलाई अन्तर्वार्ता लिइरहेको अवस्थामा नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्