आजदेखि बडादशैंं शुरु,घटस्थापनाकाे उत्तम साइत विहान ११ः४६ मा

  • ख-
  • ख+


पाेखरा,१ कार्तिक । नेपालीहरुकाे महान चाड बडादशैं आजदेखि शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।

घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्याय र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्