पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’
आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो । नारासँगै र्‍यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर ।

यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो ।

यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पहिलोपटक पोखरामा दबाब र्‍याली निकालेको हो ।
पोखराको सभागृहबाट शुरु भएको र्‍याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भयो ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियान पोखराका संयोजक विनय यादवले भने–‘स्वाधीन पोखरालाई ऋणमा दुबाएर बनाइएको विमानस्थल गलाको पासो बन्न नदिन सचेत पोखरेली जाग्नुपर्ने बेला भएको छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष बढी भइसक्दा पनि नियमित सुचारु किन भएको छैन प्रश्न गर्दै उनले थपे– विमानस्थलको गत वर्षको आय जम्मा ४ करोड र सरकारले प्रत्येक महिना चाइनालाई व्याज मात्र १६ करोड तिर्नु यो गलाको पासो नभएर के हो ?

उनले भैरहवामा पोखरा भन्दा ठूलो एयरपोर्ट ८ अर्बमा सञ्चालनमा आउँदा पोखरामा भैरहवाको भन्दा सानो विमानस्थलका लागि २८ अर्ब लाग्नुमा ठूलो भ्रष्टाचार भएको ठहरसमेत गरे ।

संयोजक यादवले अभियानको यो सांकेतिक कार्यक्रम भएको बताउँदै विमानस्थल सञ्चालनमा सरकार यस्तै उदासिन रहे थप दबाबमुलक कार्यक्रमसमेत आयोजना गरिने बताए ।

अभियानका सदस्य सुनिल धामीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि कालान्तरमा विमानस्थल यस्तै भइरहने र सरकारले तिर्नुपर्ने ऋणका कारण विमानस्थल नै पोखरेलीको अधिनमा नहुने हो कि भनेर खबरदारी गर्न आवश्यक रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्