जरोटुप्पोमा बालकृष्ण समको स्मरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १२२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ ।
कार्यक्रममा विद्वत् प्रवचन दिँदै विद्वान् डा. नारायणप्रसाद अधिकारीले बालकृष्ण समले साहित्यका सबै क्षेत्रमा अतुलनीय योगदान दिएर पनि राणा परिवारमा जन्मेकै कारण राज्यबाट उपेक्षित हुनु दु:खको कुरा रहेको बताए ।

उनले थपे–भक्ति, दर्शन, ज्ञान र विज्ञान मात्र नभएर साहित्यका सबै क्षेत्रका परम्पराको क्रमभंग गरेर कोशेढुंगा जस्ता नयाँ मानक सिर्जना गर्न सक्ने अभूतपूर्व प्रतिभाप्रति राखिएको पूर्वाग्रहले नेपाली वाङ्मयको श्रीवृद्धि हुँदैन ।

आफूलाई समाजवादी भन्नेहरूले समको समाजवाद बुझ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै अधिकारीले भने– आर्मीको उच्च तहमा पुगेर, सम्पन्न परिवारमा जन्मेर पनि मलाई उच्च सम्बोधन नगर भनेर साधारण जीवन बिताउने समको समाजवादबाट आफूलाई समाजवाद र लोकतन्त्रका पहरेदार ठान्नेहरूले पाठ सिक्नुपर्छ ।

संस्थाका मानार्थ संरक्षक समाजसेवी विश्वमोहन गौचनले नाट्यसम्राट बालकृष्ण समलाई आफ्ना सिर्जनाको परिमाण र गुण दुवै दृष्टिकोणले नेपाली नाट्यसाहित्यमा विशिष्ट मानक र मूल्य स्थापित गरेका प्रतिभाका रूपमा चित्रण गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले १९७० मा खुलेको गोरखा भाषा प्रकाशिनी समितिलाई नेपाली भाषा प्रकाशिनी समितिमा परिणत गर्नेदेखि लिएर साहित्यका हरेक विधामा योगदान दिएका समको कदरमा कञ्जुस्याई गर्नु स्रष्टा साधक सबैका लागि घातक हुने बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका सदस्य दुर्गाबहादुर शाह बाबाले समलाई नेपाली नाट्यजगत्का मूल्यवान् निधि र बहुमूल्य सम्पदाका रूपमा चिनाए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले राज्यको ढुकुटी रित्याएर वाङ्मयको सेवाका लागि स्थापना भएका संघसंस्था पार्टीका भातृसंगठनका सम्पर्क कार्यालय जस्ता हुनु विडम्बनापूर्ण छ भने । उनले २००७ सालको परिवर्तनसँगै आफ्नो नाममा परिवर्तन, स्वस्ति र ढोग्ने चलनका सट्टा सबैलाई नमस्कार गर्दै तपाईं शब्दको प्रयोग गर्ने र भादगाउँले टोपीलाई राष्ट्रिय टोपी मान्ने बालकृष्ण समको सादगीपनलाई चिन्न नसकेर आफूलाई लोकतन्त्रका जन्मदाता बन्नेहरूले लोकलाई नै हसाइरहेको धारणा व्यक्त गरे ।

सिर्जना साहित्य सदन घाचोकका संस्थापक टेकनाथ पीडितले नेपाली वाङ्मयका त्रिमूर्ति कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटामध्ये पौड्याल र देवकोटाको योगदानको स्मरण राज्यबाट हुँदै गर्दा समको स्मरण समान रूपमा हुन नसक्नु बिडम्बनापूर्ण रहेको बताए ।

जरोटुप्पो संरक्षण साहित्य समाजका परिकल्पनाकार मदन भण्डारीले समको योगदानलाई धेरै संघसंस्थाले नजरअन्दाज गर्दै आएकाले जरोटुप्पोले संस्था स्थापनाकालदेखि स्मरण गर्दै आएको बताउँदै समलाई सिङ्गो नेपाली साहित्य क्षेत्रको सर्वाङ्गीण विकासमा अद्वितीय योगदान दिएका स्रष्टाका रूपमा चिनाए ।

कार्यक्रममा शिक्षासेवी बलराम पराजुली, गजलकार विष्णु बास्तोला, साहित्यकार देवेन्द्र केसी, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ र अनु बराललगायतले आफ्ना रचना र धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्