आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । आज नवरात्रको सातौं दिन अर्थात् सप्तमी, शक्तिपिठ र घर–घरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाईंदैछ ।

हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन फूलपाती पर्व मनाइन्छ ।

फूलपातीको दिन हरेक घर तथा दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ । आश्विन शुक्ल सप्तमीको अवसरमा घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा आज फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआराधना गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रुपमा फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

आजको दिन महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

यस अवसरमा पोखराको विन्दवासिनी मन्दिर, तालबाराही लगायत काठमाण्डौंको नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लागेको छ ।

नवरात्रको सातौं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गरिन्छ ।

९ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्र अर्थात दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाका यी ९ रुपलाई नवदुर्गा भनिन्छ ।

दशैंको खास दिन आजदेखि सुरू हुन्छ । चहपहल बढ्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा हुन्छ । दशैंको टीका थाप्न आ–आफ्नो घर फर्किने क्रम पनि फूलपातीको दिनबाट तीब्र रूपमा बढ्छ ।

गाउँघरमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिंगेपिङ र रोटेपिङले दशैंको रौनकलाई अझ बढाउँछ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्