
पाेखरा । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो ।
त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कुकुर तिहार
घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।
आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।
कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।
कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।
आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।
धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै
आज साँझ कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।
घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शय्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको छ ।
आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ ।