पाेखरा ।
यमपञ्चक अन्तर्गत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् ।
दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको छ ।
आज भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ ।
आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ ।