आज बाला चर्तुदशी पर्व: धार्मिक स्थलहरुमा सतविज छरेर मनाईँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । आज बाला चर्तुदशी हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा सतबीज छरेर मनाइरहेका छन् ।

 देशभरका धार्मिक स्थलहरुमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ । आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।

सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेषमान्तक वनमा सतबीज छरी परिक्रमा गर्दै आज बालाचतुर्दशी पर्व मनाइँदैछ ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ ।

बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको सतबीज दिवंगत भएकाहरूका लागि खानेकुरा रोपिएको भन्ने लोककथन छ ।

 सतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।

 बालाचतुर्दशीमा एक गेडा सतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पञ्चासेमा भक्तजनकाे भीड
कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा पनि बाला चर्तुदशीमा दर्शनार्थीकाे भीड छ । पवित्र धामकाे रुपमा मानिने पञ्चासेमा वर्षेनी बालाचर्तुदशीमा सतविज छर्ने दर्शनार्थीकाे भिड लाग्ने गर्दछ ।

खुलेकाे हिमालले  दर्शनार्थीलाई आकर्षण गरेकाे छ । विशेष गरि बाला चर्तुदशीमा स्याङजा, कास्की,पर्वत, तनहुँ लगायतका छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरु सतविज छर्न पञ्चासे पुग्ने गर्छन् ।

धार्मिक स्थलका रुपमा प्रख्यात पञ्चासे मन्दिर पुग्न उकालाे पैदलमार्ग जानुपर्ने भए पनि दर्शनार्थीहरु बाटाे-बाटाेमा प्राकृतिक साैन्दर्य र मनमाेहक हिमालका दृश्यहरुसँगकाे तस्वीर र भिडियाे कैद गर्दै हिड्छन्, भने अन्तिम गन्तव्य पञ्चासे मन्दिर पुगेपछि त्यहाँकाे रमणीय र लाेभलाग्दा दृश्यले सबै थकान मेटिएकाे आभास गर्छन् ।

पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत मानिन्छ ।

पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र हाे । यसको संरक्षण, विकास र प्रवद्र्धनमा सबै जुट्नु आवश्यक छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्