पोखरा । लेखनाथ नेवा खलको आह्वान र लेखनाथ नेवा मिसा पुचको आयोजनामा पोखराको लेखनाथ क्षेत्रमा पहिलोपटक यःमरी उत्सव आयोजना हुने भएको छ। पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० स्थित पावरहाउसमा हुने उत्सवबारे जानकारी गराउँदै आयोजकले नेवाः संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
पत्रकार सम्मेलनमा उत्सवका संयोजक मेनुका श्रेष्ठले संरक्षण अभावका कारण नेवाः संस्कृति र परम्परा हराउँदै गएको बताउँदै, नेवार समुदायको मौलिक परिकार यःमरी बनाउने र खाने संस्कृतिलाई जगेर्ना गर्न पहिलोपटक यस्तो कार्यक्रम गरिएको जानकारी दिनुभयो। कार्यक्रममा यःमरीसँगै समयवजी लगायतका अन्य नेवारी परिकारहरू पनि प्रस्तुत गरिनेछ।
संस्थापक अध्यक्ष प्रेम लिगलले प्राचीन संस्कार र संस्कृतिहरू हाम्रो सभ्यताको पहिचान भएको भन्दै यस्ता परम्परागत अभ्यासहरू युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको औंल्याउनुभयो। यःमरी पुन्हीको अवसरमा खाइने यःमरी नेवाः संस्कृतिमा विशेष महत्व राख्ने उल्लेख गर्दै उहाँले उत्सवले सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।
गगन नेवा खलका सचिव शरणकुमार प्रधानका अनुसार लेखनाथ क्षेत्रमा करिब २४५ घरधुरी नेवार समुदायको बसोबास रहेको छ। उनले प्राचीन कालदेखि नै नेवार समुदाय लेखनाथ क्षेत्रमा संगठित रूपमा रहेको र अहिले यसको नौ वटा इकाइहरू सक्रिय रहेको जानकारी गराउनुभयो।
कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, गणेश नेवा खलका अध्यक्ष जयराम श्रेष्ठलगायतले उत्सवको सफलताको शुभकामना व्यक्त गरे।
नेवाः संस्कृतिको जगेर्ना र पुस्तान्तरणको ठूलो अवसरको रूपमा हेरिएको यस उत्सवले लेखनाथ क्षेत्रको सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।