
पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको ऐतिहासिक र धार्मिक स्थल कान्छी बराह मन्दिरको प्रचारप्रसार र प्रवर्द्धन गर्न हाइकिङ कार्यक्रम आयोजना गरिएको छ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीको विशेष उपस्थिति रहेको कार्यक्रममा हाइकर्स क्लब नेपालले पर्यटकीय गन्तव्य चिनाउने काममा उदाहरणीय योगदान दिइरहेको उल्लेख गरियो। सदस्य भण्डारीले यस्ता अभियानलाई सहयोग पुर्याउने नीतिहरू राज्यबाट ल्याउनुपर्ने बताउँदै आफू नीतिगत सहयोग गर्न प्रतिवद्ध रहेको जनाए।
कार्यक्रममा पितम देउराली आमा समूहले हाइकिङ टोलीलाई फूलको गुच्छाले स्वागत गर्दै स्थानीय कला र संस्कृति प्रस्तुत गरे। कान्छी बराह मन्दिरदेखि पितम देउरालीसम्मको यात्रा सहज बनाउन स्थानीय समाजसेवी र कृषि फर्म सञ्चालक कमल गुरुङले टोलीलाई साथ दिए।
स्थानका व्यवसायी सन्जु आचार्य पौडेलले हाइकिङ टोलीलाई खानामा विशेष छुट दिँदै पर्यटकको सुविधाका लागि खानेपानी व्यवस्थापन, सीढी बाटो निर्माण र फोहोर व्यवस्थापनका लागि सरकारसँग माग गरिन्।
हाइकिङ कार्यक्रममा पुल्चोक क्लबका अध्यक्ष सुरज खवास, सल्लाहकार जुना गुरुङ, पत्रकार नवीन क्षेत्री, समाजसेवी सितला थापा, व्यवसायी देवी गुरुङलगायत ३५ जनाको सहभागिता थियो।
“स्वास्थ्य र पर्यटनका लागि हाइकिङ” भन्ने नारासहित हरेक महिनाको अन्तिम शनिबार पर्यटकीय गन्तव्यमा हाइकिङ गर्दै आएको हाइकर्स क्लब नेपालले यसपटकको ५३ औँ श्रृंखला कान्छी बराह मन्दिरमा आयोजना गरेको हो।
कार्यक्रमले धार्मिक स्थलको प्रवर्द्धन मात्रै होइन, स्थानीय समुदाय र पर्यटन व्यवसायलाई पनि उत्साहित बनाएको छ। स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको सहभागीहरूको सुझाव छ।