
पोखरा । पोखरा महानगरपालिका– वडा नं ४ द्वारा आयोजित यःमरी महोत्सव शनिबार उत्साहपूर्वक सम्पन्न भएको छ । नेवाः मिसा पुचःको संयोजनमा ऐतिहासिक गणेश टोलमा आयोजना गरिएको महोत्सवले नेवारी समुदायको परम्परागत परिकार यःमरीलाई संरक्षण गर्दै अन्य समुदायमा प्रचारप्रसार गर्ने लक्ष्य राखेको थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राख्ने महानगरको नीति रहेको बताए। उनले पोखराको ऐतिहासिक क्षेत्र गणेश टोलको संरक्षणका लागि महानगरले विशेष योजना बनाएको उल्लेख गर्दै यस्ता महोत्सवलाई हरेक वर्ष निरन्तरता दिन महानगरपालिका तयार रहेको बताए।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले यःमरीजस्तो मौलिक परिकारलाई अन्य समुदायमा परिचित गराउन महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए। पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु हो।
महोत्सवमा यःमरी बनाउने प्रतियोगिता र लाइभ डेमोस्ट्रेसन मुख्य आकर्षण थिए। साथै, यःमरीसहित अन्य नेवारी परिकारहरू बारा, सेलरोटी, समयबजी र नेपाली पिज्जा जस्ता व्यञ्जनको प्रदर्शनी र बिक्री गरिएको थियो। नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यका अनुसार महोत्सवले नेवारी परिकारलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न सहयोग गरेको छ।
सांस्कृतिक कार्यक्रमको रुपमा लाखे नृत्य, धिमे बाजा र कुमारी नृत्य प्रस्तुत गरिए। महोत्सवमा गायक पशुपति शर्मासहितका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरे।
कार्यक्रम सुरु हुनुअघि सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो। र्याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै गणेश टोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो।
स्थानीयवासी र पर्यटकहरूको उत्साहजनक सहभागितामा सम्पन्न महोत्सवले नेवारी परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।