
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि ट्रायल दिन अब सजिलो हुने भएको छ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीले ट्रायलका लागि नयाँ मोडलका सुजुकी अल्टो के-टेन कार र हिरो मोटरसाइकलहरू प्रयोग गर्न थालेको छ।
सनराइज ड्राइभिङ स्कुलले पुराना सवारी साधनले गर्दा परिक्षार्थीहरूलाई ट्रायल दिन गाह्रो हुने समस्या समाधान गर्न नयाँ र आधुनिक सवारी साधनको व्यवस्था गरेको हो। अल्टो के-टेन गाडीमा पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबिएस एन्ड ईबीडी सिस्टम, ब्याक सेन्सरजस्ता सुविधाहरू छन्, जसले ट्रायल सजिलो बनाउने छ। यसअघि प्रयोग हुँदै आएका सवारी साधनभन्दा अल्टोको टर्निङ रेडियस र वाइड स्पेस कम भएकाले गाडी मोड्न सहज हुने जनाइएको छ।
ट्रायलका लागि हिरो सुपर स्प्लेन्डर, हिरो जुम, डिओ स्कुटर, टिभिएस एनट्रक स्कुटर, रेडियन मोटरसाइकलजस्ता साधन उपलब्ध गराइनेछ। मोटरसाइकल र स्कुटरका लागि निःशुल्क ट्रायल सुविधा दिइनेछ भने कार, जिप, मिनी ट्रक, बस, ट्रक, ट्याक्टरजस्ता सवारी न्यूनतम शुल्कमा प्रयोग गर्न पाइनेछ।
पोखराको नयाँबजार, रंगशाला गेट अगाडि, फुलवारी र बिरौटा शाखाबाट यी नयाँ मोडलका सवारी साधनमा ट्रायल दिन सकिने व्यवस्था गरिएको छ। सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष बसन्त भट्टचनका अनुसार, “नयाँ सवारी साधनले परिक्षार्थीहरूलाई सहज बनाउनमात्र होइन, फेल हुने दर घटाउन पनि मद्दत पुर्याउनेछ।”
गण्डकी प्रदेशकै उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ पोखरामा यो नयाँ व्यवस्था गरिएको हो, जसले लाईसेन्स ट्रायल प्रक्रिया अझ प्रभावकारी र सरल बनाउनेछ।