पोखरा महानगरको निर्णय : डेभिज फल्सको अवरोध हटाएर अब नियमित सञ्चालन!

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकाले डेविज फल्सको सञ्चालनमा आएको अवरोध हटाउँदै, यस प्रमुख पर्यटकीय गन्तव्यलाई पुनः नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

नगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले डेविज फल्सको व्यवस्थापन, पर्यटन शुल्क संकलन तथा अन्य आवश्यक प्रक्रियाहरू सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकले कानुनी प्रक्रिया अनुरूप पोखरा महानगरपालिकालाई डेविज फल्सको पर्यटन शुल्क संकलन गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ। साथै, महालेखा परीक्षकको कार्यालयद्वारा उठाइएको बेरुजु सम्बन्धी विषयको समाधानका लागि आवश्यक कदम चाल्ने निर्णयसमेत भएको छ।

बैठकमा छोरेपाटन माविले २०३४ सालदेखि सञ्चालन गर्दै आएको पाताले छाँगो (डेविज फल्स) को स्वामित्व पोखरा महानगरले ग्रहण गर्ने सहमति जनाइएको छ। लामो समयदेखि विवादको विषय बनेको स्वामित्वका सम्बन्धमा महानगरले अधिकार ग्रहण गरेपछि व्यवस्थापन थप प्रभावकारी हुने विश्वास गरिएको छ।

डेविज फल्स क्षेत्रको पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विस्तारलाई ध्यानमा राख्दै, २०७८ सालमा सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार सेती क्यानोन प्रा. लि. सँग गरिएको सम्झौताको कार्यान्वयन र यसको स्थानीय प्रभावहरूबारे बैठकमा व्यापक छलफल गरिएको थियो।

भविष्यमा स्थानीय समुदायलाई हुने फाइदाका पक्षहरूलाई विशेष ध्यान दिँदै परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय भएको छ।

उक्त बैठकमा नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुरक्षा निकायका प्रतिनिधिहरू, वडा नं. १७ का वडा अध्यक्ष राधिका कुमारी शाही योगी, छोरेपाटन माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो।

माघ १ गतेदेखि बन्द भएको डेविज फल्स अब नियमित रूपमा सञ्चालनमा आउने निर्णयसँगै पोखराको पर्यटन क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ।

महानगरपालिकाले पाताले छाँगो क्षेत्रको पर्यटन शुल्क व्यवस्थापन तथा स्थानीय बासिन्दाहरूको हितलाई प्राथमिकतामा राख्दै आगामी योजनाहरू अघि बढाउने जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्