पोखरामा मोडिफाइड मोटरसाइकलमाथि कडाई,४७ वटा प्रहरी नियन्त्रणमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की प्रहरीले समाजमा ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा लिएको छ। माघ १४ गतेदेखि २० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाइहरू तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त अभियानमार्फत चेकजाँच गर्दा ती सवारी साधन नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार यी मोटरसाइकलहरू गैरकानुनी रूपमा इन्जिन, साइलेन्सर, हेडलाइट, ह्यान्डल र अन्य पार्ट्स परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने बनाइएका थिए। कानुनअनुसार सवारी साधनको मूल स्वरूप परिवर्तन गर्न नपाइने प्रावधान रहेको हुँदा नियन्त्रणमा लिइएका सबै मोटरसाइकललाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, पोखरा पठाइएको छ।

प्रहरीका अनुसार पछिल्लो समय युवाबीच सवारी साधनको अवैध मोडिफिकेसन गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले गर्दा सडक सुरक्षामा चुनौती उत्पन्न हुनुका साथै ध्वनि प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ।

यसै सन्दर्भमा, कास्की प्रहरीले आम सर्वसाधारणलाई यस्ता अवैध सवारी साधनहरूबारे प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ। यदि कोही व्यक्तिले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने गरी मोटरसाइकल चलाएको देखिएमा जिल्ला प्रहरी कार्यालयको हटलाइन १०० वा जिल्ला ट्राफिक प्रहरी कार्यालयको १०३ मा फोन गरी जानकारी दिन आग्रह गरिएको छ।

सार्वजनिक स्थानमा अनावश्यक रूपमा ध्वनि प्रदूषण गर्ने, ट्राफिक नियम उल्लंघन गर्ने तथा अन्य व्यक्तिहरूलाई असुविधा पुर्याउने कार्यलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर निगरानी बढाउने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्