पोखरा । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह समिट एयरको चार्टर जहाजमार्फत आइतबार पोखरा पुग्दा नागरिकले भव्य स्वागत गरे। स्वागतका लागि पोखराका मुख्य स्थानहरूमा विशेष तयारी गरिएको थियो।
नेपाल ऋषि प्रा. डा. जगमान गुरुङको संयोजकत्वमा गठित ११११ सदस्यीय स्वागत समिति तथा हजारौं नागरिकको उपस्थितिले कार्यक्रम उल्लासमय बनेको थियो। परम्परागत बाजागाजा, झाँकीहरू र झन्डाहरूले सहरमा उत्सवमय माहोल सिर्जना भएको थियो।
पूर्वराजा शाहलाई देख्न तथा सम्मान गर्न हजारौं नागरिक सडकमा उत्रिएका थिए। उनका समर्थकहरूले फुलमाला, अबिर र नारासहित स्वागत गरेका थिए।
उनी आज राति रूपाकोट रिसोर्टमा बस्ने कार्यक्रम छ भने, सोमबारदेखि विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गर्नेछन्। करिब दुई साताका लागि पोखरामा रहने शाहको आगमनले स्थानीय समुदायमा नयाँ उत्साह छाएको छ।
तस्बिरहरु: सविन सुनार
























