१९औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । खेलकुद पर्यटन प्रवर्द्धन तथा स्वस्थ जीवनशैलीको अभिवृद्धि गर्ने लक्ष्यसहित १९औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने यो प्रतिष्ठित म्याराथन फागुन ३ गते पोखरामा हुँदैछ।

खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्दै पोखरालाई खेलकुदको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यका साथ यो म्याराथन सञ्चालन हुँदै आएको छ। विश्व प्रसिद्ध ‘CITY MARATHON’ को अवधारणालाई आत्मसात् गर्दै पोखरालाई म्याराथन हबका रूपमा विकास गर्न खेल प्रेमीहरू जुटेका छन्।

यस वर्षको म्याराथन विभिन्न १४ विधामा आयोजना हुनेछ। म्याराथनमा २१ देशका खेलाडीहरु सहभागि हुदैछन् । खेलाडीहरूका लागि ४२.१९५ किमि खुला म्याराथन तथा गण्डकी प्रदेशस्तरीय म्याराथन मुख्य आकर्षण हुनेछन्। यसबाहेक २१.०९७ किमि हाफ म्याराथन, १० किमि पुरुष तथा महिला दौड, ५ किमि विद्यालयस्तरीय दौड, ५ किमि भेट्रान्स (५० वर्ष माथि) दौड तथा ह्विलचेयर तथा दृष्टिविहीन दौड जस्ता प्रतिस्पर्धाहरू पनि हुने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा २१ देशका धावकहरू सहित १०,००० भन्दा बढी खेलाडीहरू सहभागी हुने अपेक्षा गरिएको छ। खुला म्याराथनतर्फ मात्र ८० जना विदेशी धावक, हाफ म्याराथनमा ५० भन्दा बढी विदेशी धावक तथा विद्यालयस्तरीय दौडमा २,५०० भन्दा बढी छात्र-छात्राको सहभागिता रहने छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन पुरस्कार राशीका हिसाबले पनि नेपालको चर्चित म्याराथनमध्ये एक हो। खुला म्याराथनतर्फ प्रथम स्थान प्राप्त गर्ने खेलाडीलाई रु. ५ लाख, द्वितीय स्थानलाई रु. ३ लाख, तृतीय स्थानलाई रु. २ लाख, चौथोदेखि आठौं स्थानसम्मका खेलाडीलाई रु. ३० हजारदेखि १० हजार नगद पुरस्कार प्रदान गरिनेछ। यो वर्ष पुरस्कार राशीमा मात्र २१ लाख १४ हजार रुपैयाँ खर्च हुनेछ भने सम्पूर्ण म्याराथनको आयोजना खर्च १ करोड ८९ लाख रुपैयाँ रहने मञ्चका पूर्व अध्यक्ष तेज गुरुङले बताए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन Association of International Marathon and Distance Races (AIMS) मा आधिकारिक रूपमा दर्ता भएको नेपालकै पहिलो प्रविधिमैत्री म्याराथन हो। खेलाडीहरूको समय नाप्न विगत दुई वर्षदेखि ‘चिप टाइमिङ टेक्नोलोजी’ प्रयोग गरिँदै आएको छ। यो प्रविधिले धावकहरूको दौड ट्र्याक गर्न मद्दत गर्छ भने निर्णायकहरूलाई समेत सहज बनाउँछ।

यस वर्षको मुख्य प्रायोजक सुजल डेरी (सफल दूध) रहेको छ, जसले आगामी २०८३ सम्म निरन्तर समर्थन गर्नेछ। अन्य प्रमुख सहयात्रीहरूमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, कृषि विकास बैंक, एनआरएनए आईसीसी, पोखरेली मञ्च यूके, रोटरी डिष्ट्रिक्ट ३२९२, विभिन्न निजी विद्यालयहरू, होटल व्यवसायी, पर्यटन सम्बद्ध संघसंस्थाहरू तथा स्थानिय व्यवसायीहरू रहेका छन्।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन केवल एउटा दौड प्रतियोगिता मात्र नभई नेपालका लागि खेल पर्यटन प्रवर्द्धनको अभिन्न हिस्सा बनिसकेको छ। ‘स्वास्थ्यका लागि पोखराका लागि: संगै पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि बौडौं’ भन्ने अभियान समेत म्याराथनकै अवसर पारेर सञ्चालन गरिनेछ। नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ भन्छन्, “पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने हाम्रो प्रयास निरन्तर जारी छ। खेल पर्यटनको माध्यमबाट पोखरालाई विश्व खेलकुद नक्शामा स्थापित गर्ने हाम्रो मुख्य उद्देश्य हो।”

आयोजकहरूले सम्पूर्ण पोखरेलीहरू, खेल प्रेमीहरू, तथा खेलाडीहरूलाई फागुन ३ गतेको म्याराथनमा सहभागी हुन, खेलाडीहरूलाई स्वागत गर्न तथा पोखरालाई खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन्।

पोखरा महानगरपालिकाले ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ अभियानलाई आत्मसात् गर्दै यो म्याराथनलाई विशेष प्राथमिकता दिएको छ। हरेक वर्ष फागुनको पहिलो शनिबार आयोजना हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई यसपटक अझ व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न २८ वटा उपसमिति गठन गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्