इजरायल–हमास युद्धमा मारिएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदैं

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

धनगढी । इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।

जोशीको शव यात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकास्थित उनको निवासबाट महाकाली नदीको भुजेला घाटका लागि प्रस्थान गर्ने कार्यक्रम छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार राष्ट्रिय सम्मानका साथ धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिनेछ। उनले जानकारी दिएअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।

अध्ययनका क्रममा इजरायल पुगेका जोशी गत २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला बन्धक बनाइएका थिए। लामो समयदेखि बेपत्ता रहेकामा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।

सोमबार मात्रै इजरायलबाट जोशीको शव नेपाल पठाइएको थियो। काठमाडौंबाट नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल ल्याइएपछि नेपाली सुरक्षाकर्मीले राष्ट्रिय सम्मानका साथ सलामी अर्पण गरी परिवारलाई शव बुझाइएको थियो।

विपिनको शव ल्याइएपछि नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहित तीन सदस्यीय इजरायली प्रतिनिधिमण्डल पनि कञ्चनपुर पुगेको थियो। राजदूतसहितको टोलीले जोशीको निवासमा पुगेर परिवारप्रति संवेदना व्यक्त गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्