पोखरा । पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र उम्रिएको प्रेमलाई कथामा बुनेको चलचित्र ‘पेन्सन पट्टा’ ले पोखरामा दर्शकको मन छोएको छ।
पोखराको मिडटाउन सिनेमाजमा मंगलबार चलचित्र ‘पेन्सन पट्टा’को विशेष शो सम्पन्न भएको हो। विशेष शोमा गण्डकी प्रदेश तथा पोखराका राजनीतिक, प्राज्ञिक, सामाजिक र सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
विशेष शोमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. कुश्माकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षा तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं गायक विनोद बानियाँलगायत सहभागी थिए।
त्यसैगरी पोखरेली युवा सांस्कृतिक परिवार, पोखरा सांगीतिक कलाकार संघ, गुरुङ फिल्म एसोसिएसन नेपाललगायत संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका प्राज्ञिक, सामाजिक र राजनीतिक व्यक्तित्वहरूको समेत उपस्थिति थियो।
चलचित्र हेरेपछि पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ‘पेन्सन पट्टा’ सामाजिक विषयवस्तुमा आधारित भएकाले आफूलाई मन छोएको बताए। चलचित्रले उठाएका विषय समाजकै ऐनाजस्तो रहेको उनको प्रतिक्रिया थियो।
गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङले चलचित्रको दुई घण्टाको समय बितेको पत्तै नपाएको बताए। समाज, परिवार, संस्कार, लाहुरेको प्रेम र जीवनसँग जोडिएको कथालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उनको भनाइ थियो। कलाकारहरूको अभिनयसमेत जीवन्त लागेको उनले बताए।
सांसद सरस्वती गुरुङले ‘पेन्सन पट्टा’लाई सामाजिक यथार्थमा आधारित चलचित्रका रूपमा चित्रण गरिन्। विशेषगरी ताङतिङ गाउँका मनमोहक दृश्य र त्यही परिवेशमा कथा प्रस्तुत गरिनु आफूलाई मन परेको उनले बताइन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चलचित्रले गुरुङ समुदायको जीवनशैलीसँगै भूतपूर्व गोर्खा सैनिकको जीवन, परिवार, पुरानो संस्कृति र परम्परालाई पर्दामा उतारेको बताए।
ताङतिङ, भुजुङ, पोखराको खुदीखोला तथा बेगनास आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले पहाडी भूगोल र त्यहाँको जीवनलाई कथासँगै अघि बढाएको उनको भनाइ थियो।
लेकमा हुने भेडीगोठ, गोठालो जीवन, गाउँको परिवेश, स्थानीय लवज र शैलीदेखि संस्कृति तथा परम्परासम्मलाई चलचित्रले पर्दामा उतार्ने प्रयास गरेको आचार्यले बताए। उनका अनुसार चलचित्रमा एउटा साँचो प्रेमकथा पनि बगेको छ, जसले दर्शकलाई कथासँगै बाँधिराख्छ।
विशेष शोमा सहभागी अधिकांशले चलचित्रको कथा, अभिनय र प्रस्तुतिको प्रशंसा गरेका थिए। उनीहरूले समाजमा कतै देखिने र कतै लुकेर रहने जीवनका कथालाई चलचित्रले पर्दामा ल्याएको प्रतिक्रिया दिएका छन्।
गुरुङ समुदायको मौलिकता, भूतपूर्व गोर्खा सैनिकको जीवनसँग जोडिएका संवेदना, परिवार र सम्बन्धका उतारचढाव तथा प्रेमलाई स्थानीय परिवेशसँग जोडेर प्रस्तुत गरिएकाले चलचित्र दर्शकसँग नजिकिएको सहभागीहरूको भनाइ थियो।
ताङतिङका डाँडाकाँडा, गाउँका बाटा, लेकका भेडीगोठ र गोठालो जीवनका दृश्यसँगै स्थानीय बोली र संस्कृतिले चलचित्रलाई एउटा समुदाय र जीवनशैलीको दृश्य अभिलेखजस्तो बनाएको प्रतिक्रिया पनि विशेष शोमा सुनियो।
परदेशी लाहुरेको जीवनसँग गाँसिएका सपना र पीडा, परिवारभित्रका सम्बन्ध, समयसँगै बदलिँदै गएको समाज र पुराना संस्कारलाई प्रेमको धागोले जोड्दै चलचित्रले कथा अघि बढाएको छ।
यसरी ‘पेन्सन पट्टा’ले मनोरञ्जनसँगै गाउँको गन्ध, पहाडको सौन्दर्य, लाहुरेको जीवन, पारिवारिक माया, संस्कारको सम्झना र प्रेमको मर्मस्पर्शी संवेदनालाई एउटै पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ।
पोखरामा सम्पन्न विशेष शोले स्थानीय दर्शक तथा कला–संस्कृति क्षेत्रका व्यक्तित्वमा चलचित्रप्रतिको चासोसमेत देखाएको छ।
सहभागीहरूको प्रतिक्रियाले चलचित्रमा समेटिएको सामाजिक यथार्थ र मौलिक परिवेश दर्शकको भावनासँग जोडिएको देखाएको छ।








