पोखरा ।
Changan को नयाँ विद्युतीय एसयूभी NEVO Q05 पोखरामा शुक्रबार सार्वजनिक हुने भएको छ। नेपालमा Changan का लागि अधिकृत विक्रेता MAW Vriddhi Autocorp Pvt. Ltd. ले सार्वजनिक कार्यक्रमसँगै चार दिने परीक्षण सञ्चालन गर्ने जनाएको छ।
कम्पनीका अनुसार ग्राहकले असोज ३ देखि ६ गतेसम्म चौतास्थित दीपाल पोखरा शोरुममा NEVO Q05 को परीक्षण गर्न सक्नेछन्। चितवनपछि पोखरामा पहिलोपटक सार्वजनिक गर्न लागिएको यो गाडीलाई सहरी जीवनशैलीका लागि लक्षित प्रिमियम विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको छ। NEVO Q05 को अल्ट्रा संस्करणको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
गाडीमा ५१.९ किलोवाट घण्टा क्षमताको CATL लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसमा ‘गोल्डेन सिल्ड २.०’ ब्याट्री प्रविधि तथा ३सी द्रुत चार्जिङ सुविधा रहेको छ। अधिकतम प्रत्यक्ष करेन्ट चार्जिङ क्षमता १६२ किलोवाटसम्म रहेको र ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १५ मिनेट लाग्ने दाबी कम्पनीको छ।
१२० किलोवाट क्षमताको विद्युतीय मोटरबाट सञ्चालित NEVO Q05 ले एनईडीसी परीक्षणअनुसार एकपटक पूर्ण चार्जमा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। यसको ऊर्जा खपत प्रतिकिलोमिटर १२.९ किलोवाट घण्टा रहेको बताइएको छ।
२ हजार ७३५ मिलिमिटरको ह्वीलबेस रहेको Q05 मा पछाडिका यात्रुका लागि पर्याप्त स्थान उपलब्ध गराइएको छ। पछाडिका सिटलाई आवश्यकता अनुसार पछाडि ढल्काउन मिल्ने सुविधा रहेको छ भने ५४० लिटर क्षमताको डिक्कीले पारिवारिक तथा दैनिक प्रयोजनका लागि पर्याप्त सामान राख्न सकिने कम्पनीको भनाइ छ।
गाडीको बाहिरी बनोटलाई सफा तथा वायुगतिकीय स्वरूपमा तयार गरिएको छ। विशिष्ट बत्तीको बनोटसहितको यसको डिजाइनले अन्तर्राष्ट्रिय गोल्डेन ए डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।
Q05 को डिजाइन Changan को विश्वव्यापी डिजाइन सञ्जालअन्तर्गत विकास गरिएको हो। कम्पनीका अनुसार ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विज्ञ संलग्न रहेको टोलीले यसको डिजाइन तयार गरेको हो। टोलीको नेतृत्व Changan का विश्वव्यापी डिजाइन उपाध्यक्ष तथा पूर्व फक्सवागन समूहका डिजाइन प्रमुख क्लाउस जिक्योरा (Klaus Zyciora) ले गरेका छन्।
कम्पनीका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म NEVO Q05 को बिक्री १ लाख २५ हजारभन्दा बढी पुगेको छ। चीनमा यो गाडी आफ्नो वर्गका एसयूभीमध्ये पछिल्ला चार महिनासम्म अग्रस्थानमा रहेको दाबी पनि कम्पनीले गरेको छ।
NEVO, Changan को नयाँ ऊर्जा सवारी साधनअन्तर्गतको प्रमुख शृङ्खला हो। Q05 मार्फत नेपालमा विद्युतीय सवारीको बजारमा आधुनिक प्रविधि, आरामदायी यात्रा र आकर्षक डिजाइनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
Changan Automobile चीनको प्रमुख अटोमोबाइल निर्माता कम्पनीमध्ये एक हो। कम्पनीका अनुसार यसको १६० वर्षभन्दा बढीको औद्योगिक इतिहास रहेको छ र १०० भन्दा बढी देशमा उपस्थिति छ। विश्वभर १८ हजारभन्दा बढी इन्जिनियरको टोलीमार्फत कम्पनीले विद्युतीय तथा नयाँ पुस्ताका सवारी साधन विकास गर्दै आएको जनाएको छ।
नेपालमा MAW Vriddhi Autocorp Pvt. Ltd. ले Changan Automobile तथा यसका उपब्रान्ड Deepal, NEVO र AVATR का सवारी साधन बिक्री तथा वितरण गर्दै आएको छ।








