पोखरामा भित्रियो नेभो क्यू०५, ५१.९९ लाखमा विद्युतीय एसयूभी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ। यसको अल्ट्रा संस्करणको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

पोखरामा शुक्रबार साँझ आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले नेभो क्यू०५ सार्वजनिक गरिन। एमएडब्ल्यू वृद्धी अटोकर्प प्रालिले नेपालमा भित्र्याएको यो गाडीलाई कम्पनीले आकर्षक बनावट, आराम र अत्याधुनिक प्रविधिको संयोजन भएको कम्प्याक्ट विद्युतीय एसयूभीका रूपमा बजारमा ल्याएको हो।

कार्यक्रममा अध्यक्ष गौतमले पोखरामा विद्युतीय सवारी साधनको प्रयोग र बजार विस्तार हुँदै जानुले आर्थिक गतिविधिसँगै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने बताइन्। नयाँ–नयाँ विद्युतीय सवारी साधन बजारमा आउनु उपभोक्ताका लागि विकल्प बढ्नुका साथै यातायात क्षेत्रलाई आधुनिक र दिगो बनाउने दिशामा महत्वपूर्ण रहेको उनले बताइन्।

८.१ सेकेन्डमै १०० किलोमिटरको गति
नेभो क्यू०५ मा १२० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्छ।

पूर्ण चार्जमा परीक्षण विधिअनुसार यसको अधिकतम यात्रा क्षमता ४६२ किलोमिटर रहेको कम्पनीले जनाएको छ। अर्को परीक्षण विधिमा भने यसको यात्रा क्षमता ४०५ किलोमिटर रहेको जनाइएको छ। यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट घण्टा रहेको कम्पनीको दाबी छ।

१५ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज
नेभो क्यू०५ मा ‘गोल्डेन सिल्ड ब्याट्री २.०’ प्रविधिको प्रयोग गरिएको छ। उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

गाडीमा १४.६ इन्चको सूचना तथा मनोरञ्जन प्रणाली, ताररहित मोबाइल कनेक्टिभिटी, चालक सहायता प्रणाली तथा चारैतर्फको दृश्य देखाउने क्यामेरा प्रणालीलगायत सुविधा छन्। भेरियन्टअनुसार १८ वटासम्म चालक सहायता सुविधा र ५४० डिग्रीसम्मको दृश्य प्रणाली उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्प्याक्ट आकार भए पनि गाडीको भित्री भागलाई फराकिलो र व्यवहारिक बनाइएको कम्पनीको भनाइ छ। २ हजार ७३५ मिलिमिटरको ह्विलबेस रहेको नेभो क्यू०५ मा पछाडिको सिटमा तीन जना वयस्क बस्न सक्ने तथा सिटलाई दुई फरक कोणमा ढल्काउन मिल्ने व्यवस्था गरिएको छ।

सामान राख्न ५४० लिटर क्षमताको दुई तहको बुट स्पेस, ९० लिटरको अतिरिक्त भण्डारण कक्ष तथा विभिन्न प्रयोजनका लागि २९ वटासम्म स्टोरेज स्पेस रहेको कम्पनीले जनाएको छ।

विश्वव्यापी डिजाइन टोलीको योगदान
नेभो क्यू०५ को बाहिरी डिजाइन चाङ्गानका विश्वव्यापी डिजाइनसम्बन्धी उपाध्यक्ष तथा फोक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिक्योरा नेतृत्वको टोलीले विकास गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञको योगदानमा यसको डिजाइन तयार गरिएको हो। ‘फुगुआङ’ डिजाइन अवधारणाबाट प्रेरित क्यू०५ मा वायुगतिकीय संरचनासहित आधुनिक बाहिरी बनावट दिइएको छ। यसको वायुगतिकीय प्रतिरोधाङ्क ०.२६५ रहेको जनाइएको छ।

गाडीमा पूर्ण चौडाइको अगाडिको प्रकाश संरचना, आकर्षक पछाडिको बत्ती, अर्धलुकेका ढोकाका ह्यान्डल तथा ठूला पारदर्शी छानाजस्ता सुविधा उपलब्ध छन्। कम्पनीका अनुसार नेभो क्यू०५ ले सन् २०२६ को गोल्डेन ए डिजाइन पुरस्कार समेत प्राप्त गरेको छ।

पोखरामा चारदिने परीक्षण कार्यक्रम
नेभो क्यू०५ सार्वजनिकसँगै पोखरामा चारदिने विशेष परीक्षण कार्यक्रमसमेत सुरु गरिएको छ। ग्राहकले असोज ३ देखि ६ गतेसम्म चाउथेमा रहेको दिपल पोखरा प्रदर्शनी कक्षमा पुगेर गाडीको प्रत्यक्ष परीक्षण गर्न सक्नेछन्।

चाङ्गान अटोमोबाइलले विश्वका एक सयभन्दा बढी देशमा आफ्नो उपस्थिति रहेको तथा विद्युतीय सवारी, नयाँ ऊर्जा र नयाँ पुस्ताको यातायात प्रविधिमा लगानी गर्दै आएको जनाएको छ।

नेपालमा चाङ्गानका दिपल, नेभो र अवात्र ब्रान्डका सवारी साधनको आधिकारिक बिक्री–वितरण एमएडब्ल्यू वृद्धी अटोकर्प प्रालिले गर्दै आएको छ। नेपाली बजारमा आधुनिक प्रविधि, नयाँ डिजाइन र विद्युतीय सवारीका विभिन्न मोडल विस्तार गर्ने लक्ष्यअनुसार नयाँ सवारी साधन सार्वजनिक गर्दै आएको कम्पनीका रुपेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल अटोमोबाइल डिलर्स संघका पूर्वअध्यक्ष ध्रुव थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स संघका उपाध्यक्ष निरन केसी, दिपलका सद्भावना दूत प्रदीप खड्का, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, एमएडब्ल्यू वृद्धी अटोकर्पका निर्देशक पार्थ सिकरिया तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दलगायतको उपस्थिति थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्