कोटिहोम विराट ज्ञान महायज्ञका लागि अवरोध नगर्न/नगराउन उच्च अदालत पाेखराकाे आदेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै अवरोध नगर्न आदेश दिएको छ। मानव सेवा फाउण्डेशनले पोखरा महानगरपालिकाले महायज्ञ रोक्ने प्रयास गरेको भन्दै अदालतमा दिएको निवेदनमा सुनुवाइ गर्दै उक्त आदेश जारी गरिएको हो।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले मानव सेवा फाउण्डेशनले प्राप्त गरेका अनुमति पत्रहरू, नेपाल ट्रष्ट र सम्बन्धित सरकारी निकायहरूको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मानी विपक्षी पोखरा महानगरपालिका तथा मातहतका निकायहरूलाई कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको हो।

मानव सेवा फाउण्डेशनले नेपाल ट्रष्टको स्वामित्वमा रहेको पोखराको वाराहीघाटस्थित करिब ४८ रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म  कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गर्ने तयारी गरिरहेको छ।

नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर महायज्ञ सञ्चालनका लागि अनुमति दिएको छ भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति प्रदान गरिसकेको छ। साथै, पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयले २०८१ मंसिर ९ गते पत्रमार्फत स्वीकृति प्रदान गरिसकेको देखिएको छ ।

पोखरा महानगरपालिकाले नेपाल ट्रष्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरको तर्फबाट कुनै अनुमति नदिएको जनाएको थियो। यस निर्णयलाई गैरकानुनी ठहर गर्दै मानव सेवा फाउण्डेशनले उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशसहितको निवेदन दर्ता गराएको थियो।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा तथा अधिवक्ताहरू ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए। बहसमा निवेदक पक्षले महायज्ञ सञ्चालनका लागि कानूनी रूपमा आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको, आयोजनाले कुनै पनि हानि नोक्सानी नगर्ने तथा कुनै क्षति भएमा त्यसको जिम्मेवारी फाउण्डेशनले व्यहोर्ने प्रतिबद्धता जनाइसकेको तर्क प्रस्तुत गरिएको थियो।

अदालतको आदेशपछि अब महायज्ञ सञ्चालनमा कुनै कानूनी अड्चन नरहेको फाउण्डेशनले जनाएको छ। अदालतको निर्णयपछि आयोजकहरूले महायज्ञको तयारीलाई तीव्रता दिने बताएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार काम अघि बढाइने र सहभागीहरूको सहजताका लागि आवश्यक पूर्वाधारहरू निर्माण गरिने फाउण्डेशनका पदाधिकारीहरूले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्