
पोखरा । धार्मिक, ऐतिहासिक, र पर्यटकीय महत्व बोकेको पुम्दिकोट धामलाई थप व्यवस्थित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउन श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्रि महिमा २०८१ आयोजना गरिने भएको छ। पुम्दिकोट कोट विकास समितिको आयोजनामा यही फागुन ७ देखि १५ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी तीव्र पारिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक चन्द्रकान्त बरालले महायज्ञको उद्देश्य, महत्व र संरचनागत विकास योजनाबारे जानकारी गराए। उनका अनुसार पुम्दिकोट धामको धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्व उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनु महायज्ञको मुख्य लक्ष्य हो।
पुम्दिकोटलाई धार्मिक पर्यटनको केन्द्र बनाउन हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो शिवको विशाल डम्मरु, महादेव क्षेत्रकुण्ड, १०८ धारा जडानसहित अन्तर्राष्ट्रिय ध्यान केन्द्र, २१६ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, सुविधासम्पन्न शौचालय, फुलमाला बिक्री कक्षका लागि १८ ओटा सटर, तीनवटा प्राकृतिक प्रवेशद्वार, मनोरेलमार्फत गणेश भगवानको कैलाश पर्वत परिक्रमा, पञ्चधातुको शिवलिङ्ग स्थापना जस्ता संरचनाहरू निर्माण भइसकेका छन्।
महायज्ञबाट संकलित सहयोगलाई कैलाशधामको पूर्ण विकास, शिव मूर्तिको संरक्षण तथा धार्मिक पूर्वाधार विस्तार जस्ता परियोजनाहरूमा लगानी गरिनेछ। पोखरा आउने पर्यटकहरूको बसाइ लम्ब्याउने, शिवताण्डव नृत्यसहित लेजर लाइट शो, शिवलिला वृत्तचित्र प्रदर्शन, भुमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म सिसाको पुल (ग्लास ब्रिज) निर्माण लगायतका योजनाहरू महायज्ञको प्रमुख आकर्षण हुनेछन्।
महायज्ञले आध्यात्मिक जागरण फैलाउने, समाजमा धार्मिक चेतना अभिवृद्धि गर्ने र सनातन परम्परालाई मजबुत बनाउने लक्ष्य लिएको छ। यसअघि वि.सं. २०७३ र २०७९ मा आयोजित महायज्ञहरू सफल भइसकेका छन्। २०७३ सालमा ईश्वरकृष्ण महाराज र २०७९ सालमा भागवतभास्कर कमलनयन गौतम द्वारा प्रवचन गरिएको थियो।
महायज्ञ अवधिभर नित्य श्रीमद्भागवत पाठ, जप, लघुरुद्राभिषेक, चण्डीपाठ, मितापाठ, हवन, साँझमा भजन-कीर्तन, महात्म्य श्रवण, तथा महाशिवरात्रिका अवसरमा लाखबत्ती प्रज्वलन, हवन, तिल अर्पण, पूर्णाहुति, अभिषेक तथा तिलक-प्रसाद ग्रहण जस्ता धार्मिक अनुष्ठान गरिनेछन्।
महायज्ञ अन्तर्गत फागुन ७ गते कलश यात्रा, फागुन ९ गते पूर्वाङ्ग पूजाका साथ कथा वाचन सुरु, फागुन १४ गते लाखबत्ती प्रज्वलन, फागुन १५ गते हवन, पूर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण जस्ता विशेष कार्यक्रम गरिनेछ।
दान गर्ने श्रद्धालुहरूलाई दान रकमको आधारमा सम्मान गरिनेछ। आयोजकका अनुसार महायज्ञको मुख्य उद्देश्य धर्म, पर्यटन, तथा विकासको संगम स्थापना गर्दै पुम्दिकोटलाई विश्वस्तरीय धार्मिक गन्तव्यका रूपमा विकास गर्नु हो।