‘ज्ञानसागर साहित्य महोत्सव’ फागुन १० गते,जहाँ विद्यार्थीले गर्नेछन् अतिथिलाई प्रश्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । ज्ञानसागर एकेडेमी पोखरा–२५ हेमजामा आगामी १० गते ‘ज्ञानसागर साहित्य महोत्सव’ हुने भएको छ ।
‘सिर्जनशिलता र समालोचनात्मक चिन्तनसमृद्ध भविष्य’को आधार भन्ने नाराका साथे विद्यालय परिसरमा एक दिने ज्ञानसागर साहित्य महोत्सव गर्न लागेको विद्यालयले आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

विद्यार्थीलाई प्रश्न गर्ने रुची वढाउने मुख्य उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा ५ वटा सेसन हुनेछन् ।

यस महोत्सवको दोस्रो सेसनमा विद्यार्थी अनिष सापकोटा र आर्या त्रिपाठीले वरिष्ठ साहित्यकार सरुभक्त र शैक्षिक परामर्शकर्ता डा. तुलसीराम खनालसँग के पढ्ने, किन पढ़ने, घर पहिलो पाठशाला हो किन, भन्ने विषयमा प्रश्नोत्तर गर्नेे विद्यालयका संस्थापक प्रिन्सिपल शंकरमणि त्रिपाठी (छन्दमणि) ले जानकारी दिए ।

त्यसैगरी महोत्सव छिमेकी विद्यालयका विद्यार्थीहरुबाट रचना वाचन, र पोखराका सुप्रसिद्ध १० कविहरुबाट कविता वाचन गर्ने कार्यक्रम समेत रहेको विद्यालयका संस्थापक निर्देशक भरतराज अधिकारीले जानकारी दिए । उनका अनुसार यस सेसनमा विद्यार्थीद्धय निकिता भण्डारी र सुजाता यादवले सहजीकरण गर्नेछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोलप्रसाद अर्यालले विद्यालयले यस अघि नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीलाई लक्षित गरेर माघ २६ गते जिएसए किड्स फेस्टिभल सम्पन्न गरिसकेको जानकारी दिए । सोही अनुरुप माथिल्ला कक्षाका विद्यार्थीहरुका लागि साहित्य महोत्सवको आयोजना गरेको उनको भनाई छ ।

’विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न विद्यालयले विभिन्न समयमा विविध कार्यक्रम आयोजना गरेको छ’ सस्थापक प्रिन्सिपल त्रिपाठीले भने,’ विद्यार्थीका क्षमता उजागर गर्न युगले खोजेको अभ्यास दिने क्रममा विद्यालय रहेको छ । यसैको लागि हामीले यो महोत्सव आयोजना गरेका हौ ।’
उक्त अवसरमा शैक्षिक सत्र २०८० का एकेडेमिक पुरस्कार समेत वितरण गरिने विद्यालयले जनाएको छ । विद्यालयमा हाल शिक्षक र अन्य कर्मचारी गरी ४५ जना कार्यरत रहेको विद्यालयमा हाल ६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्