
लमजुङ । खासमा चलचित्र तथा गीत संगीतमा मौलिकता हराउँदै गएको आरोप बेलाबखत आइरहन्छ । पछिल्लो समय बनेका चलचित्र तथा गीत संगीत परिवारसँगै बसेर हेर्न नसकिने खालका हुन्छ । त्यहाँ प्रयोग हुने शब्द, भाषाले मौलिकता गुमाउँदै गएको देख्न सकिन्छ । पछिल्लो समय बनेका गीत संगीतले मौलिकता गुमाएका हुन् वा आधुनिकता हो ?
घलेगाउँमा भएकाे सिनेमा संवादकाे सिनेमामा संगीत : कति मौलिक, कति आधुनिक ? उक्त सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार । संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भइराखेको सिनेमा संवादअन्तर्गत उक्त सेसनलाई रिमा विश्वकर्मा सहजीकरण गरेकी थिइन् ।
तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुेपर्नेमा बास्कोटाले जोड दिए ।
संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताए । कथामा पनि क्यारेन्टरअनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उनको भनाइ छ ।
पहिला आउने र चलचित्रमा रिलेटेड नहुँदा गीत कालजयी हुन नसकेको सापकोटाको अनुभव छ । उनी भन्छन्, ‘पहिला चाहिँ गीत सुनिन्थ्यो । चलचित्र हेर्न गएपछि त्यसैमा रिलेटेड भएर आएको हुन्थ्यो र चलचित्र चलेपछि गीत हिट हुन्थ्यो । अहिले चलचित्रभन्दा पहिला गीत आउँछ । त्यो गीत चलचित्र मै हुँदैन । नभएपछि भन्दा खेरि हाम्रो मनमा बसेन ।’
प्रकाश सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । ‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उनले भने, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’
चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई नराखेको भन्दै उनले गुनासो पोखे । अहिलेको समय बजारमा चलेका गीतहरु मात्रै याद हुने खालको भएको कलाकार सपुत बताउँछन् । आजका दिनमा पनि धेरै सौन्दर्य गीतहरु रचना भएको सुनाउँछन् । एउटा दुईटा भाइरल गीतहरुलाई मात्र हेरेर अहिलेको पुस्ताले यो गीतमात्र गर्छ । अहिले गीतहरु राम्रो छैनन् । क्षणिक छन् । अहिलेका गीतहरु आजको भोलि सेलाउँछन् भन्नेमात्र देखिन्छ । किनभने अहिलेको समय त्यस्तो छ,’ उनले भने ।