
पोखरा । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले यस वर्षको २७औं पोखरा सडक महोत्सव मिति २०८२ पौष १३ देखि १७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। रेवानको २०८२ असोज २३ गते बसेको कार्यसमिति बैठकले महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतम, सह–संयोजकमा कार्यसमिति सदस्य सुनिल बहादुर भट्टराई र सुमन भट्टराईलाई मनोनित गरेको छ।
त्यस्तै, महोत्सवको स्टेरिङ कमिटी गठन पनि गरिएको छ। कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजंग कार्की गरी ६ जना सदस्य रहेका छन्।
रेवानले विगत २६ वर्षदेखि पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ “अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल” को रूपमा प्रवद्र्धन गर्दै सडक महोत्सव आयोजना गर्दै आएको छ। करिब ३ किलोमिटर लामो लेकसाइड क्षेत्रमा हुने यो महोत्सव पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा स्थापित भइसकेको छ।
“सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारासहित आयोजना गरिँदै आएको महोत्सवले पोखराको पहिचानमा गर्विलो इतिहास बोकेको रेवानले जनाएको छ। यसपटकको संस्करणलाई अझ आकर्षक र फरक बनाउन विभिन्न सरोकारवालासँग सुझाव र सल्लाह लिइने पनि तयारी छ।
सडक महोत्सवले कला संस्कृति प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार, व्यापार वृद्धिदेखि ब्राण्डिङसम्मको प्लेटफर्म उपलब्ध गराउँदै आएको छ। साथै, लोपोन्मुख परम्परा र सामग्रीको संरक्षणमा योगदान दिँदै आएको रेवानको भनाइ छ।
समग्रमा पोखरा सडक महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। निरन्तर २६ वर्षको यात्राले यस महोत्सवलाई केवल नेपाली मात्र होइन, विदेशी पर्यटकका लागि पनि नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित गराएको छ।