
पोखरा । ‘समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास’ भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै पोखरा २२ पुम्दिकोटमा आयोजना गरिएको ज्ञान महायज्ञ आज महाशिवरात्रीकाे दिन पनि जारी रहेकाे छ ।
पुम्दीकोट कोट विकास समितिद्वारा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमामा हरेक दिन श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेकाे छ । फागुन ७ गतेदेखि शुरु महायज्ञमा महायज्ञ भाेलि १५ गते शुक्रवारसम्म चल्नेछ ।
महाशिवरात्री पर्वकाे अवसरमा महायज्ञमा श्रद्वालु भक्तजनकाे उल्लेख्य सहभागिता रहने आयाेजककाे अपेक्षा छ ।
भागवत मञ्जरी राधिका दासीको मधुर वाणी श्रीमद् भागवत वाचनमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।
पोखरा देखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा सञ्चालन भएको समितिका सल्लाहकार मातृका बरालले जानकारी दिए ।
पोखरा १७ विरौटा, बराल फिड, छोरेपाटन हुँदै पुम्दिकोटसम्म बिहान ९ बजेदेखि यातायातको व्यवस्थापन भएकाे बरालले जानकारी दिए । पोखरा भ्रमण वर्ष २०२५ को घोषणासँगै पोखरामा आयोजना भएको पहिलो कार्यक्रम रहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा धार्मिक अनुष्ठानका अलावा श्रीमद्भागवत वाचन तथा विभिन्न कलाकारहरू मार्फत धार्मिक नाटक झाँकी प्रदर्शन लगायत दानदाता सम्मान कार्यक्रम हुँदै आइरहेको छ।
महायज्ञमा दानराशिका आधारमा १ हजार रुपियाँसम्मका दानहरुलाई दान पेटिकामा खसालिने, रु १ हजार देखि ३ हजारसम्म दान गर्ने दाताहरूको नाम अभिलेखमा राखी रसिद प्रदान गरिने, ३ हजार १ रुपियादेखि ५ हजार रुपियासम्म दान गर्ने दाताहरूलाई प्रमाणपत्र द्वारा सम्मान गरिने, ५ हजार १ रुपियाँ देखि १० हजारसम्म दान गर्ने दाताहरूलाई फ्रेमसहितको प्रमाणपत्रद्वारा राम नमीले सम्मान गरिएकाे छ ।
त्यसैगरी १० हजार १ रुपियाँदेखि रु २५ हजारसम्म दान गर्ने दाताहरूलाई फ्रेमसहितको प्रमाणपत्र तथा उक्त रकम दाताहरुको नाम शिलालेखमा लेखिनेछ। त्यसैगरी २५ हजार १ रुपियादेखि ५० हजारसम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित भजन किर्तनले स्वागत गर्दै मञ्चबाट नाम घोषणा गरिदै आईएकाे छ।
५० हजार १ रुपियाँदेखि १ लाख सम्म दान गर्ने दाताहरुलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिनेछ भने १ लाख १ रुपियाँ देखि रु. २ लाख २५ हजार ९९९ सम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित आकर्षक मायाको चिनो प्रदान गरिनेछ । रु.२ लाख २५ हजार रुपियाँदेखि ५ लाखसम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित परिसरभित्र रहेका कुनै एक शिवलिङ्ग उनको नामबाट स्थापित गरिनेछ। त्यसैगरी रु.५ लाख रुपियाँदेखि माथि दान गर्ने दाताहरूलाई आयोजक समितिको निर्णयले उचित सम्मान दिने कुरा समितिका व्यवस्थापक रुद्रनाथ पौडेलले जानकारी दिए ।
कार्यक्रममा स्व:स्फुर्त रूपमा विभिन्न संघसंस्था एवं आमा समूहहरूले भक्तजनहरूको व्यवस्थापन प्रसाद वितरण लगायत अन्य कार्यहरूमा सहयोग पुर्याउँदै आएका छन् । हरेक साँझ हुने महाआरती कार्यक्रममा भक्तजनहरूको उल्लेख्य भिड लाग्ने गरेको छ ।
महायज्ञको प्रत्यक्ष प्रसारण विभिन्न धार्मिक च्यानलहरू, युटुब , सामाजिक सञ्जाल र हल्लन्चोक लेकसाइड र पोखरा सभागृह चोकको ठूलो पर्दाबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ ।
यसअघि धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । २०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजजिको मुखारबिन्दुबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको थियो। त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ आयोजना भयो ।
जहाँ भागवतभास्कर कमलनयन गौतमले प्रवचन दिएका थिए । ती महायज्ञहरू मात्र कर्मकाण्डीय क्रियाकलाप थिएनन ती आध्यात्मिक यात्राका महत्वपूर्ण माइलस्टोन थिए, जसले हजारौं भक्तजनलाई सत्य, प्रेम, र भक्तिको मार्गमा अग्रसर गरायो। समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महायज्ञको आयोजना गरिएको हो ।