सु-शान्त क्लबद्वारा आयाेजित भजन चुट्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज भजन समूह प्रथम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सु-शान्त क्लब पोखरा-१७ बिरौटाको आयोजनामा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू भएका छन्।

कार्यक्रममा शिव महिमा भजन चुट्का प्रतियोगिता, रुद्री पूजा, धुनी जागरण, प्रसाद वितरण साथै भजन कन्सर्ट जस्ता आकर्षक गतिविधिहरू गरिएका थिए ।

कार्यक्रममा भएकाे भजन चुट्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज भजन समूह, हेमजा प्रथम भयाे । यस्तै धर्मस्थली भजन समूह, पोखरा-५ ले द्वितीय र मिलिजुली भजन समूहले तृतीय स्थान हासिल गरेका छन् । विजेताले क्रमश: नगद रु. ३०,०००, रु. १८,००० र रु. १२,००० सहित प्रमाणपत्र प्राप्त गरेका छन् । साथै, वालनकला भजन समूहले उत्कृष्ट नृत्यको पुरस्कार प्राप्त गर्दै सम्मानित भयो । प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए।

कार्यक्रमका प्रमख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रम बोलबमधामका पीठाधीश डा. स्वामी चिढ्द्धन चैतन्यले धर्म, संस्कृति र ध्यानको महत्त्वबारे प्रकाश पारे । ‘महाशिवरात्रि केवल एक चाड होइन, यो आत्मशुद्धि, भक्तिको उन्नति, र समाजमा धार्मिक चेतना फैलाउने अवसर हो।’ उनले भने-‘धर्म भनेको केवल परम्पराको निरन्तरता मात्र होइन, यो जीवनको सही मार्गचित्र पनि हो। धर्मले नै मानवलाई नैतिक, अनुशासित र शान्त बनाउने शक्ति प्रदान गर्छ।’

उनले धर्म संस्कृतिको जगेर्ना गर्नका लागि सही ज्ञान र अभ्यास आवश्यक पर्ने बताए । उनले भने-‘संस्कृतिलाई जोगाउन यसको व्यवहारिक पक्षलाई आत्मसात् गर्नुपर्छ। हामीले केवल धार्मिक विधिहरू पालन गरेर मात्र होइन, दैनिक जीवनमै नैतिकता, अनुशासन, करुणा, र सत्यताको अभ्यास गरेर पनि धर्मलाई जोगाउन सक्छौं।’

उनले ध्यान आत्मचिन्तनको सर्वोत्तम उपाय भएकाे बताउँदै ध्यानमा केन्द्रित हुदा मन शान्त हुने विचार राखे । उनले महाशिवरात्रि ध्यान, योग, र आत्मशुद्धिको महत्वपूर्ण अवसर भएकाे बताए ।

कार्यक्रमका गण्डकी प्रदेश सांसद प्रकाश बरालले क्लबले गरेकाे कार्यक्रमकाे प्रशंसा गरे ।

सु-शान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाटले समाजको विकास केवल भौतिक पूर्वाधारले मात्र हुँदैन, संस्कार र संस्कृतिको जगेर्नाले पनि समाजलाई उन्नत बनाउँने बताए । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समुदायमा एकता, सहकार्य र नैतिक मूल्यमान्यताहरूको विस्तार गर्न मद्दत गर्छ। हामीले यस्ता कार्यलाई अझ सशक्त रूपमा अघि उनकाे भनाई छ ।

सु-शान्त क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम पौडेलले महाशिवरात्रि मनाउनु मात्र पर्याप्त नभई धर्म, संस्कृति र परम्परागत मान्यताहरूलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए। साथै, क्लबले शिवमन्दिर निर्माणका लागि ५१ हजार रुपैयाँको कोष खडा गरेको उनले जानकारी दिए ।

कार्यक्रममा उपस्थित सहभागीहरूले धर्म-संस्कृतिको जगेर्ना गर्दै परम्परागत गतिविधिहरूलाई नीतिगत तरिकाले अगाडि बढाउने आवश्यकताको औंल्याएका थिए। धार्मिक आस्थाको संरक्षण र समाजमा सद्भाव फैलाउने यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा निरन्तर सञ्चालन गरिने आयोजकले बताएका छन्।

धार्मिक कार्यक्रमको औपचारिक सुरुवात बिहान रुद्री पूजाद्वारा गरिएको थियो। सु-शान्त क्लबका उपाध्यक्ष शिला सिग्देलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन क्लबकी सचिव सगुन पौडेलले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्