
पोखरा । नेपाली सिनेमा क्षेत्रकी ख्यातिप्राप्त अभिनेत्री मनीषा कोइरालाले आफ्नो जीवनका तीन प्रमुख घुम्तीबारे खुलेर कुरा गरेकी छिन्। पहिलो घुम्ती फिल्म उद्योगमा प्रवेश थियो, जहाँ उनले कुनै पृष्ठभूमि नभए पनि संघर्ष गर्दै आफ्नो पहिचान बनाइन्। दोस्रो घुम्ती क्यान्सरसँगको लडाइँ थियो, जसले उनलाई जीवन र मृत्युको वास्तविकता बुझ्न बाध्य बनायो। अहिले ५४ वर्षको उमेरमा उनी आफ्नो जीवनलाई नयाँ तरिकाले जिउने कोसिस गरिरहेकी छिन्।
क्यान्सर जस्तो घातक रोगसँग जुध्दा उनले मृत्युको बोध गहिरोसँग गरिन्। उनलाई लाग्थ्यो, “अब बाँच्दिनँ होला” भनेर, र त्यो पीडादायी समयमा उनले जीवनको अस्थायी स्वरूप, आफन्तहरूको असली रूप, र मृत्युको अपरिहार्यताबारे गहिरो बोध गरिन्। अस्पतालको बेडमा हुँदा उनले महसुस गरिन् कि जीवन सधैंभरि रहँदैन, हामीमध्ये कसैको छिटो त कसैको ढिलो मृत्यु निश्चित छ। उनले हस्पिटलमा बिताएका कठिन दिनहरू सम्झिँदै भनिन्, “मलाई लाग्थ्यो, म अब मर्छु कि बाँच्छु? यदि बाँचें भने कस्तो जीवन जिउँछु?” यही सोचका कारण उनले आफूलाई पुनः निर्माण गर्ने प्रण गरिन्।
उनी अस्पतालमा हुँदा धेरै साथीभाइबाट अलग भइन्। धेरैजसो अपेक्षा गरेका साथीहरू साथमा आएनन्, बरु उनको आमाबुबा र केही नजिकका मित्रहरू मात्र उनीसँग थिए। उनले भनिन्, “मलाई लाग्थ्यो, मेरो ठूलो जमात छ, तर जब म सबैभन्दा कमजोर अवस्थामा थिएँ, त्यतिबेला कोही पनि भएनन्।” एक जना डाक्टरले उनलाई प्रेरणा दिएका थिए, जसले प्रत्येक आइतबार आएर उनीसँग समय बिताउँथे। जब उनले सोधिन्, “तपाईं किन मलाई समय दिइरहनुभएको छ?” उनले भने, “म तपाईंलाई भनेर होइन, म तपाईंको पीडा बुझेर यहाँ छु। अब तपाईं पनि यही नै अरू कसैका लागि गर्नुहोस्।” यस घटनाले मनीषालाई मानव सम्बन्धको वास्तविक मूल्य बुझायो।
उनले आफ्नो अनुभवबाट सिकेकी कुराहरू साझा गर्दै भनिन्, “हाम्रो दुःखमा को उभिन्छ भनेर सोच्नु जरुरी छैन। अपेक्षा गरेनौं भने पीडा पनि कम हुन्छ। माया पाइयो भने राम्रो, पाएनौं भने पनि राम्रो।” जिन्दगीबारेको उनको बुझाइ अहिले निकै फरक छ। उनले भनिन्, “म पहिले जब स्टार थिएँ, मेरो नाक आकाशतिरै थियो। ठूलो सफलता पाइयो, तर जब खस्यो, निकै तल खस्यो। तर जीवन अस्थायी रहेछ, हिजो सफलता थियो भने भोलि असफलता पनि हुन सक्छ।”
क्यान्सरपछि उनको जीवनको दृष्टिकोण नै फेरियो। उनी भन्छिन्, “पहिले लाग्थ्यो, जीवन अनन्त छ। मेरो अन्त्य नै छैन भन्ने अहंकार थियो। तर हस्पिटलको बेडमा हुँदा महसुस गरें, मृत्यु निश्चित छ। एक्लोपन असाध्यै भयो। डर लाग्यो। बाँचें भने कस्तो बाँच्ने?” उपचारपछि बिस्तारै सामान्य जीवनमा फर्किन थालेकी मनीषा अहिले भने जिन्दगीलाई खुला रूपमा जिउन चाहन्छिन्। उनी भन्छिन्, “अब मलाई दिमागले नबाँधोस्। आत्माले जहाँ खुसी मान्छ, त्यही बाटो हिँड्न चाहन्छु।”
फिल्म करियरमा फर्कने वा नफर्कने भन्ने प्रश्नमा उनले भनिन्, “पहिला म धेरै महत्वाकांक्षी थिइनँ, अहिले झन् छैन। तर जब मेहनत गरें, सफलता पाइयो।” उनले आफ्नो परिवारको राजनीतिक पृष्ठभूमि भए पनि आफूलाई राजनीति भन्दा सिर्जनशीलता र कलात्मक जीवन मन पर्ने बताइन्।
नेपाली फिल्म उद्योगको अवस्थाबारे पनि उनले धारणा राख्दै भनिन्, “नेपाली फिल्म उद्योग राम्रो अवस्थामा छ। ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो ५० करोड कमाउने फिल्म बन्यो। अहिले फिल्मको बजेट करोडौंमा पुगेको छ, यो राम्रो संकेत हो। अब सिर्जनशीलता दिनुपर्छ। हाम्रो समाजमा किताब पढ्ने संस्कार राम्रो छ, त्यसैले राम्रो कथा भएमा हामी विश्वस्तरको सिनेमा बनाउन सक्छौं।”
अन्त्यमा, उनले भनिन्, “म जुन उचाइमा थिएँ, फेरि त्यही उचाइमा फर्कनुपर्ने दबाब छैन। म निर्णय गर्ने स्वतन्त्रता चाहन्छु। किनकि, जो मृत्युको बोध गरिसक्छ, उसलाई धेरै कुराले बाँध्दैन।”