
पोखरा । पोखरामा आयोजना हुन लागेको कोटीहोम महायज्ञ रोक्न महानगरपालिकाले उच्च अदालत, पोखरामा दिएको निवेदन खारेज भएको छ। अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई सदर गर्दै आयोजक मानव सेवा फाउण्डेशनको पक्षमा निर्णय गरेको हो।
महानगरले फागुन १ गते अदालतको आदेश एकपक्षीय रहेको दाबी गर्दै पुनरावलोकनको माग राख्दै निवेदन दर्ता गरेको थियो तर, उच्च अदालत पोखराका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको इजलासले महानगरको मागलाई अस्वीकार गर्दै पूर्ववत् आदेशलाई सोमबार निरन्तरता दिएको छ।
अदालतको आदेशमा भनिएको छ, “विवादित स्थान र विषयको पूर्ण सुनुवाइ भइ अन्तिम निर्णय हुँदासम्म हाल कायम आदेशलाई अन्यथा गरिरहनु पर्ने देखिँदैन।” अदालतको यो आदेशसँगै पोखरा महानगर र मेयर धनराज आचार्यलाई झट्का लागेको छ।
फाउण्डेशनले अदालतको निर्णयलाई स्वागत गर्दै महायज्ञ तोकिएको स्थान, मिति र समयमै हुने जनाएको छ। यसअघि, पोखरा महानगरले क्याम्पिङ चौर र नेपाल ट्रस्टमातहतको बाराहीघाटमा हुने कोटीहोम रोक्ने अडान लिएको थियो। तर, अदालतको आदेशपछि अब आयोजनामा कुनै अवरोध नहुने निश्चित भएको छ।
महानगरले यसअघि नै कुनै पनि हालतमा सोही स्थानमा महायज्ञ हुन नदिने बताएको थियो। अब अदालतको आदेशपछि मेयर आचार्य र महानगरले के कदम चाल्नेछन् भन्ने चासोको विषय बनेको छ।