पाेखराकाे वीरेन्द्रचोकमा स्व. राजा वीरेन्द्रको शालिक अनावरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पाेखरामा स्व. राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको शालिक अनावरण गरिएकाे छ ।

पोखराको वीरेन्द्रचोकमा नेपालका पूर्वसम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले स्व. राजा वीरेन्द्रकाे शालिक अनावरण बिहिबार अनावरण गरेका हुन् ।

शालिक अनावरण कार्यक्रममा उपस्थित जनसमुदायले स्व. राजा वीरेन्द्रको राष्ट्रप्रेम, स्थायित्व र समृद्धिका लागि गर्नुभएको योगदानको स्मरण गरेका थिए।

पोखराका विभिन्न क्षेत्रबाट आएका नागरिकहरू पुष्पगुच्छा, राष्ट्रिय झण्डा तथा मालासहित शालिकस्थलमा उपस्थित भएका थिए।

शालिक अनावरण समारोहमा बोल्दै शालिक निर्माण समितिका अध्यक्ष मेजर गणेशबहादुर पौडेल क्षेत्रीले राजा वीरेन्द्रको शासनकाल नेपालका लागि शान्ति, स्थायित्व र समृद्धिको युग रहेकाे बताए । उनले भने-“उहाँले राष्ट्रलाई एकताको सूत्रमा बाँध्नुभएको थियो। आज उहाँको शालिक अनावरण हुनु भनेको नेपाली जनता, विशेष गरी पोखरावासीको राजसंस्थाप्रतिको सम्मान र आस्थाको प्रतीक हो।”

शालिक निर्माण समितिका सचिव अरुण गिरीले राजसंस्था नेपालको पहिचान र स्वाभिमानसँग गाँसिएको संस्था हो भएकाे बताए । उनले नेपाली जनताले राजसंस्थालाई माया गर्नेमा कुनै द्विविधा नभएकाे भन्दै उपस्थित नागरिकहरूको सहभागिताले नै जनताले राष्ट्रिय एकता र स्थायित्वका प्रतीकका रूपमा राजसंस्थालाई अझै उच्च स्थानमा राखेकाे उल्लेख गरे । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च लागेको र भत्काइएको १८ वर्ष पछि नयाँ शालिक पुनःनिर्माण गरिएको सचिव गिरीले जानकारी दिए ।

कार्यक्रमका क्रममा पोखरावासीको अभिव्यक्तिमा राजसंस्थाप्रतिको प्रेम, सद्भाव र ऐतिहासिक योगदानप्रतिको उच्च मूल्यांकन झल्किन्थ्यो।

शालिक निर्माण समितिका पदाधिकारीहरूले स्व. राजा वीरेन्द्रको योगदानलाई चिरस्थायी राख्न र राष्ट्रिय एकताको प्रतीकका रूपमा यो शालिक निर्माण गरिएको बताएका थिए। अनावरण समारोहका क्रममा उपस्थित नागरिकहरूबीच “राजा आउ, देश बचाउ!” नारासमेत गुन्जिएको थियो।

यो अनावरण कार्यक्रम पोखराका लागि स्मरणीय क्षण बनेको छ, जसले इतिहासप्रति सम्मान प्रकट गर्दै राष्ट्रप्रेमको भावलाई अझ सशक्त बनाएको छ।

श्री ५ वीरेन्द्र शालिक निर्माण समिति, पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

तस्बिरहरू:

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्