वैवाहिक जीवनको अन्तरवस्तु र महत्व

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखक: दुर्गादत्त भुसाल-स्याङ्जा भिरकोटे

प्राचीनकालमा मानव इतिहासको अध्ययनबाट आदिम साम्यवादी युगमा। पुरुष र महिलाबीच स्वतन्त्रता सहवास हुने बेलादेखि मानव समाज समान उमेरका जो कोही बीच सहवास हुने विवाहको चरणमा प्रवेश गरेको पाइन्छ । धार्मिक शास्त्रका आधारमा वैवाहिक सम्बन्धलाई परम पवित्र र जीवनको एउटा महत्वपूर्ण अङ्ग मानिएको छ। विवाहलाई संसारको पहिलो आश्रम भनिएको छ। विवाह दुई व्यक्ति बीचको सम्बन्ध नभई आत्माहरूको मिलन हो। आपसी सहयोग सन्तान उत्पादन, समाज र परिवारलाई स्थायित्व प्रदान गर्नु हो। वैदिक परम्पराअनुसार वरवधुलाई अर्ध नारीको रूपमा मानिन्थ्यो। पतिले पत्नीतर्फ माया, सुरक्षा आवश्यकता अनुसार संरक्षण गर्नुपर्छ। श्रीमतीलाई गृहलक्ष्मीको रूपमा मानिन्छ। परिवारको सुख, शान्ति बच्चाहरूको स्याहारसंहार र सामाजिक मान्यता अनुसार संरक्षण गर्ने दायित्व हुन्छ।

मनोस्मृतिले विवाहलाई आठ प्रकारमा वर्णन गरेको पाइन्छ। यी विवाह का प्रसङ्गहरू जो जहाँको बासस्थानको समाज बन्द छ, त्यहाँ समाजका चल्तीका आधारमा नियम, नैतिकता र कर्तव्यका आधारमा परिभाषित गरेको छ।

१-ब्रह्मा विवाह-
यस विवाहलाई सबैभन्दा उत्कृष्ट र सर्वश्रेष्ठ रूपमा लिइएको पाइन्छ। हिन्दू धर्म अनुसार-विष्णु पालनकर्ता, महेश्वर संहारकर्ता र ब्रह्मा सृष्टिकर्ताको रूपमा सम्झि वरलाई कन्यादान दिनु वैदिक नीति अनुसार अर्पण गरिने पद्धतिलाई बर्मा विवाह पद्धति भनिन्छ।

२-देव विवाह-
वैदिक धार्मिक परम्परा अनुसार वेदका मन्त्रहरू उच्चारण गरी वर र बधुले अग्निमाथि साँची सात फेराहरू लिन लगाइन्छ, जसले उनीहरूको जीवनभरको दुवै हृदयलाई एकै हृदयको भावनाको उत्सर्ग बनाई सदाभर चिरायुन भनी वरवधुलाई वरण गरी सुम्पिने विवाहलाई देव विवाह भनिन्छ। यस्तो विवाह पद्धतिले दम्पतिको जीवनमा धर्म, सत्य, प्रेम पारिवारिक धार्मिक, आर्थिक, उत्तरदायित्व र वैदिक सभ्यतासँग जोडिदिएको हुन्छ।

३-आर्स विवाह-
यो सामाजिक मूल्य मान्यता र परिवारका सदस्यहरूको सरसल्लाह परम्परा रूपमा संस्कृति, धर्म र जाति, मूल्य वा उपहार बिना गौदानका साथ वरलाई कन्या सुम्पने पद्धतिलाई भनिन्छ।

४-प्रजापत्य विवाह-
हिन्दू विवाह परम्परा अनुसार महत्त्वपूर्ण विवाह मानिएको छ। यस विवाहमा पिता वा अभिभावकले आफ्नो छोरीलाई आफ्नो योग्य वर सृष्टिकर्ता, ब्राह्मण हुन् भनी कुनै मूल्य वा उपहार बिना धर्मपालन तथा गृहस्थ जीवनको कर्तव्य पुरा होस् भनी, गरिने विवाह पद्धतिलाई प्रजापत्य विवाह भनिन्छ।

५.-आसुर विवाह-
केटा पक्षले कन्याका पारिवारिक पक्षलाई ठूलो धनराशी वा सम्पत्ति उपहार दिएर धन वा लोभकै आधारमा हुने भएकाले, यस विवाह पद्धतिलाई आसुर विवाह भनिन्छ।

६.-प्रेम विवाह वा गन्धर्व विभाग-
केटा केटीको आपसी प्रेम, सद्भाव, स्वतन्त्रता, सामाजिक वा आर्थिक विधिहरूको आवश्यकता नलिई, पारिवारिक सदस्यहरूको दबाब बिना गरिने विवाहलाई प्रेम विवाह वा गन्धर्व विभाग भनिन्छ।

७-राक्षस विवाह-
पारिवारिक वा कन्याको इच्छा विपरीत जबरजस्ती बल प्रयोग गरी अपहरण शैलीमा गरिने विवाहलाई राक्षस विवाह भनिन्छ। यस विवाहलाई धार्मिक हिसाबले वर्जित गरिएको विवाह पद्धति हो।

८-पैसाच विवाह-
कुनै पनि लागू औषधीको कारण नशा वा अचेत अवस्थामा रहेको अवस्थामा गरिने विवाहलाई पैसाच विवाह भनिन्छ। यस विवाह पद्धतिलाई धार्मिक कानुन अनुसार अयोग्य ठहर गरिएको छ।

वैवाहिक जीवन-
वैवाहिक जीवनको पहिलो आदर बिन्दु विवाह हो। दाम्पत्य जीवनको महत्व अत्यन्तै ठूलो हुन्छ, जसमा सहकार्य प्रेम, सम्मान र साझेदारी तत्त्व बसेको हुन्छ। जीवन पर्यन्त सँगै सुख-दुःखका भंगलाहरू कटाउने लक्ष्य र उद्देश्यले दाम्पत्य जीवन सुरु हुन्छ। त्यसकारण यसको महत्व धेरै पक्षमा मानिन्छ।

क)-भावनात्मक समर्थन-
यसमा भावनाको कदर उत्तम जीवनसाथीसँग गाँसिएको भावनात्मक सम्बन्ध हुन्छ। कुनै कारणवश दुःख परेका बेला भावनाको एकता बनेको हुन्छ भने सुखमा पनि भावना गाँसिएर एक अर्का पुरकको रुपमा रहन सके मानसिक सन्तुलन कायम हुन्छ।

ख)-सामाजिक दायित्व-
विवाह गर्नु आफैमा भावनासँग गाँसिएको अन्तरतत्त्व हो, जसले परिवारको निर्माण गर्न र समाजमा सकारात्मक प्रभाव पार्ने शक्ति पैदा गरी स्थायित्व ल्याउँछ, त्यसैले यो एउटा सामाजिक संस्था पनि हो। स्थिर र सशक्त दाम्पत्य सम्बन्धले सबै बालबालिकाहरूलाई सुरक्षित र सन्देशमूलक वातावरण प्रदान गर्दछ।

ग)-सकारात्मक प्रभाव-
स्वास्थ्य नै वैवाहिक जीवनले मानसिक र शारीरिक रुपमा सकारात्मक प्रभाव पार्दछ। सुखी र सुख्खा अन्तरवस्तुहरूलाई अनुभवमा परिणत गर्दछ।

घ)-जीवनको उद्देश्य प्रेरणा-
श्रीमान श्रीमतीले एकअर्कालाई साथ दिँदै आआफ्नो जीवन बढ्न प्रेरित गर्दछ, जसले आआफ्नो व्यक्तित्व, नेतृत्व विकास र सफलता प्राप्त गर्न सहयोग गर्छ।

ङ)-जीवनका चुनौतीहरू पार गर्नु-
दाम्पत्य जीवनमा गाँसिएपछि, एकअर्काले अनेक खालका चुनौतीहरू सामना गर्दा त्यस्ता अप्ठ्याराहरूलाई एकअर्काका परिपूरक भई सामना गर्न सकिन्छ, जसले गर्दा दुवै बीचको अन्तर तत्त्वलाई विश्वासमा वृद्धि गर्दछ।

च)-आर्थिक सहकार्य-
जब एक्लै रहन्छ तब आर्थिक सहकार्य गर्न कठिनाइ महसुस हुन्छ, भने वैवाहिक जीवनमा दुवै पक्षले परिवार र समाज चलाउन योगदान गर्दछन् जसले आर्थिक भारलाई व्यवस्थापन गर्न सक्दछ।

मनोस्मृतिले आठ किसिमको विवाह पतिलाई उल्लेख गरे तापनि हिन्दु संस्कृतिमा अघिल्लो शताब्दीसम्म वैवाहिक जीवनमा केही विभेद कायम थिए। राजा महाराजाहरू र उच्च घर घरनियाहरूले बहुविवाह गर्दथे। यसैगरी महाभारत कालमा बहुपति विवाहको उदाहरण लिन सकिन्छ कि, द्रौपदी पाँचपति पाँच पाण्डवसँग सहवास गरिन् भन्ने भनाइ पाइन्छ। पैसाच, राक्षस र गन्धर्व विवाहबाहेक अरू विवाहलाई उच्चकोटीको विवाह मानिन्थ्यो। राजा महाराजहरू र उच्च धनी मानिसहरूले बहुविवाह पश्चात कुनै कारणवश मृत्यु भएमा मृत्युपछि श्रीमतीहरू पनि लाससँग जानुपर्दथ्यो, जसलाई सती प्रथा भनिन्थ्यो। पछिल्ला चरणमा आएर सती प्रथा बहुविवाह र धार्मिक कानुनको मान्यता अनुसार बाहेक अन्य यस्तै किसिमका विवाह भएमा कानुनी दण्डनीयको नियम बसालियो।

निष्कर्ष
वैवाहिक जीवनलाई सुदृढ र आनन्दमय बनाउन विभिन्न तत्त्वहरू धर्म, कर्म, आदर, सम्मान, विश्वास, समझदारी, सहयोग, सहकार्य, प्रेम स्नेह, एक अर्कालाई बुझ्ने, स्वीकार गर्ने, आपसी सम्मान माया र समर्पण हुनु नै वैवाहिक जीवनको असल पक्ष हो। दुवै पक्ष एकअर्कालाई बुझ्न सकेनौ भने असमझदारी र चुनौतीपूर्ण बन्न सक्दछ।
अन्त्यमा वैवाहिक जीवन एकअर्कालाई स्नेहपूर्वक सशक्त बनाउने हो। भने साँचो दाम्पत्य त्यही हो, जसले दुवै आत्मालाई मर्यादित गरी पूर्णता र शान्तिमय शक्ति दिन सक्दछ। यो शक्ति नै दुवै जीवनको सार्थकताको महत्त्व रहिरहन्छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्