पोखरामा कोटीहोम रोक्न खोज्दा झडप, २५ जना घाइते

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । पोखराको लेकसाइडस्थित बाराहीघाटमा कोटीहोम आयोजना रोक्ने विषयलाई लिएर शुक्रबार विवाद हुँदा दुई पक्षबीच झडप भएको छ। पोखरा महानगरले अनुमति नलिएको भन्दै कार्यक्रम रोक्न खोजेपछि आयोजक र नगर प्रहरीबीच झडप भएको हो।

विवादका क्रममा दुबै पक्षबाट २५ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जना नगर प्रहरी र १४ जना कोटीहोमका स्वयंसेवक तथा भक्तजन रहेका छन् । उनीहरूलाई मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

पोखरा महानगरपालिकाले लेकसाइड क्षेत्र महायज्ञ जस्ता ठूला कार्यक्रम गर्न उपयुक्त नभएको भन्दै रोक्ने निर्णय गरेको थियो। तर, आयोजक मानव सेवा फाउन्डेसनका विजय कृष्णमूर्तिले अदालतले रोक नलगाएको भन्दै कोटीहोम गर्ने अडान राखे।

महानगर प्रहरी कार्यक्रम स्थलमा पुगेर रोक्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले केही सामग्री गाडीमा राखेर लैजान खोजेपछि आयोजक पक्ष आक्रोशित बनेर प्रतिकारमा उत्रिएको थियो।

यसअघि पनि कोटीहोम आयोजना विवादमा परेको थियो। वर-पिपलका रूख काटिएपछि स्थानियबासीले असन्तुष्टि जनाएका थिए। महानगर कार्यपालिकाले पनि यस आयोजनालाई स्वीकृति नदिने निर्णय गरिसकेको छ।

अहिले अदालतमा कोटीहोम सञ्चालनका विषयमा छलफल जारी छ। अन्तिम निर्णय नआउँदासम्म यो विवाद समाधान हुने सम्भावना कम देखिन्छ। पर्यटकीय क्षेत्रमै दोहोरो झडप भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

तस्वीरहरू:

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्