पोखरामा कोटीहोम गर्ने कि रोक्ने? विश्व हिन्दु महासङ्घ र महानगरबीच विवाद, सोमबार वार्ता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको बाराहीघाटमा हुने भनिएकाे ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट् ज्ञान महायज्ञ’लाई लिएर विवाद चर्किएको छ। विश्व हिन्दु महासङ्घले महायज्ञ रोक्न नहुने बताउँदै कुनै हालतमा बाराहीघाटमै गर्ने अडान लिएको छ भने पोखरा महानगरपालिकाले उक्त स्थान सार्वजनिक भएकाले त्यहाँ यस्तो धार्मिक कार्यक्रम गर्न नदिने स्पष्ट पारेको छ।

शनिबार विश्व हिन्दु महासङ्घ नेपाल जिल्ला कार्य समिति, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर खरालले महायज्ञ रोक्न खोज्नु गलत नजिर बसाल्ने प्रयास भएको बताए। उनका अनुसार यज्ञ कसैले रोकेर रोकिने कुरा होइन, बरु रोक्ने प्रयास नै गलत हुनेछ। उनले शुक्रबार भूमि पूजन गर्ने क्रममा पोखरा महानगरपालिकाले प्रहरी र केही समूह परिचालन नगरेको भए स्थिति तनावपूर्ण नहुने दाबी गरे।

खरालले यसलाई वैदिक सनातन धर्ममाथि आक्रमण भएको भन्दै इतिहासमा हजारौं धर्मावलम्बीको बलिदानकै कारण सनातन धर्म टिकेको दाबी गरे। साथै, उनले धर्मगुरु बिजय कृष्णमूर्तीले दिएको विवादास्पद अभिव्यक्तिको पनि बचाउ गरे।

महासङ्घले महायज्ञ रोक्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएको छ। खरालले यदि कार्यक्रम रोकिने स्थिति आए वा समाधान नभए, महासङ्घ चरणबद्ध आन्दोलनमा जाने बताए। यस क्रममा आइतबार बिहान ९:३० देखि १०:३० बजेसम्म पोखरा महानगरपालिकामा धर्ना दिने कार्यक्रम तय गरिएको छ। सोमबार दिउँसो ३ बजे महानगरपालिकासँग वार्ता गर्ने तय भए पनि त्यहाँबाट सकारात्मक निष्कर्ष ननिस्किए थप आन्दोलन गर्ने महासङ्घले घोषणा गरेको छ।

पत्रकार सम्मेलनमा महासङ्घका जिल्ला अध्यक्ष जगन्नाथ कोइराला, मातृशक्ति गण्डकी संयोजक पार्वता पौडेल, र महासचिव भुपेन्द्र गिरीले पनि धार्मिक संस्थाहरूमाथि नगरपालिकाले हस्तक्षेप गर्न खोजेको आरोप लगाए। उनीहरूले धार्मिक संस्थाहरूलाई अपमानजनक व्यवहार गरिनु सह्य नहुने बताए। महासङ्घले अन्य धार्मिक सङ्घसंस्थासँग छलफल गरी थप रणनीति बनाउने जनाएको छ।

मानव सेवा फाउन्डेसनले वैशाख १७ देखि बाराहीघाटमा कोटीहोम गर्ने घोषणा गरिसकेको छ। तर, पोखरा महानगरपालिकाले उक्त स्थान सार्वजनिक भएकाले त्यहाँ यज्ञ गर्न नदिने अडान लिएको छ। यही विषयलाई लिएर विवाद बढिरहेको छ। अब सोमबारको वार्ताले के निकास दिन्छ भन्ने सबैको चासोको विषय बनेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्