
पोखरा । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्ने अनुमति दिने निर्णय गरेको छ। सोमबार महानगरपालिकामा बसेको बैठकले धार्मिक एवं सांस्कृतिक गतिविधिलाई सम्मान गर्दै कोटिहोमलाई अनुमतिको सहमति जनाएको हो।
बैठकमा पोखरा महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरू सहभागी थिए। छलफलपछि कोटिहोम गर्न दिने तर स्थानमा आवश्यक हेरफेर गर्ने सहमति भएको पोखरा महानगरपालिकाले जनाएको छ।
पोखरा महानगरपालिकाले कोटिहोम कार्यक्रममा संस्थागत संलग्नता जनाउने निर्णय समेत गरेको छ। विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालका अनुसार महानगरपालिकाले धार्मिक र सामाजिक सद्भावलाई मध्यनजर गर्दै कोटिहोमलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
कोटिहोम आयोजनास्थलबारे केही असहमति देखिएकोले मंगलबार कार्यपालिका बैठक बस्ने तय भएको छ। बैठकले पाँच सदस्यीय विवाद समाधान समिति बनाउने निर्णय गरेको छ। समितिमा आयोजकका तर्फबाट दुईजना, जिल्ला प्रशासन कार्यालयबाट एकजना तथा महानगरपालिकाबाट दुईजना सदस्य रहनेछन्।
समितिले केही दिनभित्रै उपयुक्त स्थान तोक्नेछ, जसपछि कोटिहोम कार्यक्रम अघि बढ्नेछ। पोखरा महानगरपालिकाले धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई सहजीकरण गर्दै समृद्ध समाज निर्माणमा योगदान दिन तयार रहेको जनाएको छ।