फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली) मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताएका छन् ।

फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान रहेको उल्लेख गरेका छन् ।

‘होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक, धार्मिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको छ ।’ शुभकामना सन्देशमा उल्लेख छ– ‘यो पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्‍याउनेछ ।’

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने यो पर्वमा रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एक आपसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको उहाँले उल्लेख गरेका छन् ।

समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख भट्टले स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरूलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्