
पोखरा । पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित श्री दुर्गा मन्दिर शक्तिपीठ धाममा यस वर्षको चैत्र महाअष्टमीको अवसरमा कोटीदीप प्रज्वलन गरिने भएकाे छ ।
चैत २३ गते विहान ८ वजेदेखि शुरु हुने साे धार्मिक कार्यक्रममा एक करोड दीप प्रज्वलन गर्ने लक्ष्य सहित विशेष धार्मिक अनुष्ठान राखिएको मन्दिर व्यवस्थापन समिति जनाएकाे छ ।
लोककल्याण, शान्ति, समृद्धि, नवग्रह शान्ति, पितृ उद्धार तथा मन्दिरको श्रीवृद्धिको लागि विशेष अनुष्ठान गरिने दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा(अधिकारी )ले बताए । उनका अनुसार विभिन्न वैदिक आचार्य गुरुहरूद्वारा सहस्र सप्तशती चण्डी मन्त्रजप, नवचण्डिपाठ, वेदपाठ, देवीमहिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दीप प्रज्वलन एवं प्रसाद वितरण कार्यक्रम हुनेछन् ।
‘यस वर्ष हामीले पहिलो कोटी दीप प्रज्वलन गर्न लागेका छौं। सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन अनुरोध गर्दछु।’ अध्यक्ष शर्माले भने-हालसम्म ६० लाख दीप संकलन भइसकेको छ भने एक करोड दीप प्रज्वलन गर्ने लक्ष्य अनुसार भक्तजनहरूबाट थप सहयोगको अपेक्षा गरिएको छ।’
भक्तहरूले चाहेको खण्डमा एक लाख दीप प्रज्वलनका लागि वाती, तिलको तेल र पूजाका लागि रु ५१०० को योगदान गर्न सक्ने व्यवस्था समेत गरिएको छ। इच्छुक भक्तजनहरूले मन्दिर सचिवालयमा सम्पर्क गरी रसिद कटाएर नाम टिपाउन सक्ने समितिले जनाएकाे छ ।
मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन लाल पौडेलले यो कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । ‘दुर्गा मन्दिर शक्तिपीठ धाम हाम्रो आस्थाको केन्द्र हो। हरेक वर्ष यहाँ भव्य रूपमा धार्मिक अनुष्ठानहरू गरिन्छन्।’ उनले भने-‘यसपटक कोटी दीप प्रज्वलन गरेर एउटा पहिलो विशेष कार्य गर्दैछौं। सबैलाई कार्यक्रममा सहभागी भई मन्दिरको समृद्धिमा योगदान गर्न आग्रह गर्छु।’
समितिका सचिव ध्रुवराज बरालले उक्त धार्मिक कार्यक्रम मन्दिरको मात्र नभई सम्पूर्ण समाजको शान्ति र समृद्धिका लागि भएकाे बताए
मन्दिरका पण्डित रामप्रसाद नेपालले सबै धार्मिक अनुष्ठान कार्यक्रमहरु विधिपूर्वक गरिने बताए । कोटी दीप प्रज्वलनसहित एक करोड दीप बाल्नकाे लागि समितिले बौद्धिक वर्ग, आध्यात्मिक वर्ग, मन्दिरका भक्तजन, टोल विकास संस्था, धार्मिक सङ्घसंस्था, आमा समुह, क्लब लगायतसँग छलफल गरेर सल्लाह सुझाब लिइसकेकाे छ ।
दुर्गा मन्दिरमा विभिन्न भक्तजनहरूद्वारा गणेश मन्दिर, सन्तोषी माताको मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर, १०८ शालिग्राम, १०८ शिवलिङ्ग, १०८ पिपल पुण्यधाम र सूर्य चक्र शनिदेव शिला विभिन्न देवीदेवता विग्रह पनि स्थापना गरिएकाे छ ।