✍️ दुर्गादत्त भुसाल (स्याङ्जा,भिरकोटे)
गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी नेपालको दोस्रो ठूलो नदी हो। हिउ नै हिउँबाट आउने पानी भएतापनि कालो माटो बगाएर ल्याउने भएकाले यसलाई कालीगण्डकी नदी नामाकरण गरिएको होला। कालीगण्डकी तिब्बतमा उत्पत्ति भएर मुस्ताङ हुँदै नेपाल छिर्छ। जसअनुसार कागबेनी भन्ने ठाउँमा मुस्ताङ खोला र काग खोला मिसीई बनेको नदीलाई कालीगण्डकी र अर्को शब्दमा कालीगण्डकीको शिर बग्ने नदी भएकाले यस नदीलाई कालीगण्डकी भनिएको हो भन्ने भनाइ पाइन्छ।
अन्नपूर्ण र धौलागिरीको चुचुरोको खोजबाट बग्ने चुमसम खुचे कलेश्वर राहुघाट खोला, मोती खोला, पैयुँखोला, पिडीखोला आँधी खोला र रुद्रबेणी बडीगार्ड खोला आदि मिसी बग्दै तनहुको देवघाटमा सेती नदी र त्रिशुली नदीसँग मिसिएर बगेको हुँदा यस नदीलाई सप्तगण्डकी नदी भनिन्छ ।
सप्तगण्डकी नदी देवघाट हुँदै त्रिवेणी नेपालको मुख्य तीर्थलाई अन्त्य गर्दै दक्षिण पश्चिममा दिशा मोडिँदै भारतको बिहार प्रदेश र गङ्गाको मैदान हुँदै पटना नजिकैको भागीरथी गङ्गा सँग मिसी गंगासागर बनेको छ।
दामोदर कुण्ड :
हिमालपारीको दुई जिल्लामध्ये मुक्त जिल्ला भनेर चिनिने एक जिल्ला हो। मुस्ताङ जिल्लाको ४८००मिटर उचाइमा अवस्थित चारैतिरको शान्त वातावरण रहेको अन्नपूर्ण, धौलागिरी ,निलगिरी ,भिरकुटी र दामोदर जस्ता मुख्य हिमाल जस्तो देखिने पाटन उपत्यका अवस्थित चारैतिरको शान्त वातावरण रहेको जस्ता मुख्य हिमाल ले घेरिएको विश्वको स्वर्गको बास जस्तो देखिने पाटन उपत्यका अवस्थित दामोदर कुण्ड प्रमुख कुण्डमध्ये एक हो।
विभिन्न धार्मिकशास्त्रको भनाइ अनुसार ,जहाँ हिमवत खण्ड क्षेत्र त्यहाँ देवताहरूको बास भनेजस्तै जो श्रद्धालु भक्तजन तीर्थलु कुनै कारणवश मृत्यु भएमा स्वर्गमा बास बैकुण्ठमा रहन्छ भन्ने भनाइ पाइन्छ ।
दामोदर कुण्ड कालीगण्डकी नदीको मुख्य शिर हो। दामोदर कुण्ड धाम क्षेत्रमा पाइलैपिच्छे हिँड्दा जताततै सालीग्राम नै शालिग्राम पाइन्छ। संस्कृतमा शालिग्रामलाई सालग्राम भनिन्छ। बोनपो बौद्ध गुरु पद्य सम्भवको तपस स्थित हो। पहिलो उद्गम स्थल हो। आत्मा र परमात्माको उद्गम स्थल हो। दामोदर कुण्ड क्षेत्र अध्यत वेदान्तको दर्शन र आदि पुरुष शङ्कराचार्यको मुक्ति क्षेत्र हो। दामोदर कुण्ड मुख्य शिरबाट गंगासागर भएको हो। दामोदर कुण्डमा स्नान गर्नाले मोक्ष र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस कुण्ड क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष पाठ पूजा हुने भएकाले सोही समय पारी विभिन्न देश तथा विदेशहरूका श्रद्धालु भक्तजनहरू निरन्तर रुपमा स्नानको लागि जाने गर्दछन् ।यस कुण्डमा महत्वपूर्ण के छ भने यस्तो हिमालको काठ चिसो हिम क्षेत्र खण्ड पनि भएको ठाउँमा दायाँ बायाँ वरिपरि कुसैकुसको झाडी भएको देख्न पाइन्छ।
मुक्तिनाथ क्षेत्र :
मुक्तिनाथ समुद्र सतहदेखि ३७१० मिटरको उचाइमा हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ। मुक्तिनाथको सेरोफेरोमा रहेको धौलागिरी निलगिरी र माछापुछ्रे हिमालको बीचमा रहेको मुक्ति क्षेत्र हो। मुक्तिनाथ धार्मिक मान्यता अनुसार हिन्दू र बौद्ध मार्गीहरूको एक महत्वपूर्ण तीर्थस्थल हो। तिब्बत बौद्ध मार्गीहरूका २४ तान्त्रिक स्थानमध्ये घुमिङ गयातत्सा पनि एक हो। मुक्तिनाथ क्षेत्र मा मोक्ष प्राप्त हुनाले यहाँको स्थानमा धेरै ऋषिमुनिहरूले ध्यान तपस्या गरेको शास्त्रहरूमा उल्लेख छ। यस क्षेत्रमा वैष्णवको मन्दिर भगवान विष्णुदेखि देवी लक्ष्मी र गरुड भगवानको मूर्ति राखिएको छ। यहाँ १०८ धारा पानीको धारा, साँढेको आकृतिका रहेका छन्। यस क्षेत्रमा प्रशस्त रूपमा शालिग्राम पाइने भएको हुँदा शालिग्रामलाई पवित्रा शिला मानिन्छ।
मुक्तिनाथ क्षेत्रमा मुक्तिनाथ मन्दिरको नजिकै ज्वालामाई पूर्वकालदेखि अहिलेसम्म निरन्तर रूपमा पानीमाथि बलिरहेको छ। मुक्तिनाथ बराहा पुराण हिमावत खण्ड पुराणले महिमा गान गरेको क्षेत्र हो। यो ठाउँमा आगो, पानी, पृथ्वी, हावा र जल संगम भेटिन्छ ।यस मन्दिरमा ब्राह्मणले पूजा गर्ने र झुमाहरुले प्रसाद वितरण गर्ने प्रचलन छ।
मुक्तिनाथमा स्नान गर्नाले मोक्ष र मुक्ति प्राप्त हुनाले यस ठाउँलाई मुक्ति क्षेत्रको ठाउँले चिनिन्छ। यहाँ विशेष गरी शिवरात्री बाला चतुर्दशी चैते पूर्णिमा अर्थात् जनै पूर्णिमा मा भव्य भेला लाग्दछ ।
कागबेनी क्षेत्र :
कागबेनी हिमाली जिल्ला मुस्ताङ जिल्लाको बरागुण मुक्तिक्षेत्र गाउँपालिकास्थित कालीगण्डकी नदीको बेसीमा रहेको एउटा गाउँ हो। कालीगण्डकी नदीको शिर दामोदरकुण्ड र गण्डकी मिश्रण भएको कागबेनी क्षेत्र सँग संगम स्थल कागबेनी धामबाट बग्ने नदी भएकाले यस नदीलाई कालीगण्डकी भनिएको हो।
कागबेनी धाममा परापूर्वकालमा कागबेनी सेरोफेरोमा ठूलो मानो सरोवर ताल मा एक दिन दुई कागहरू कुण्डमा खसेर मरेको हुँदा तत्काल यसको रुपमा हंश भई प्रकट भएकोले अंश तीर्थ भन्ने गरिएको छ। आदिमकालमा भुसे नेट ऋषि तिरोचो तालमा ध्यान सकिएपछि काग खोलमा आएर स्नान गरी नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनी धाम पितृ उद्धारका लागि श्राद्ध तर्पण पिण्ड आदि दिने चलन सुरुवात भएको धार्मिकशास्त्रमा उल्लेख छ। यहाँ विशेष गरेर देशविदेशका धार्मिक भक्तजनहरू आई पित्रीमक्षको लागि श्राद्ध तर्पण पिण्ड आदि दिने परम्परा छ।
गलेश्वर धाम क्षेत्र :
म्याग्दी जिल्ला बेनी नगरपालिका अवस्थित एक अलौकिक शक्तिधामको पीठमा रहेको रहुनदी र कालीगण्डकी नदीको पवित्र संगम स्थलमा पर्दछ। श्रीमद भागवत पुराणका अनुसार महादेवले सतिदेवीको मृत्यु शरीर बोकेर कालीगण्डकी नदीको किनार हुँदै हिमालय पर्वत क्षेत्र जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा जलेश्वर महादेव उत्पन्न भएकोले यसको नाम गलेश्वर रहेको भन्ने भनाइ उल्लेख छ ।
यस गलेश्वर धाममा शान्त वातावरण हरियाली वनजङ्गल सुसिएको कालीगण्डकी माथि अवस्थित सुखयाममा पनि नसुक्ने जहाँ बराह कुण्ड गणेश शिवलिङ्ग चक्र शालिग्राम र भगवानका पाउ चिन्ह स्वयं प्रकट भएको अनुभूत र अलौकिक तीर्थ स्थान हो। यसको पूर्वमा कृष्ण गण्डकी गायत्री मन्दिर पश्चिममा कालचर वन उत्तर सप्तऋषिको तपोभूमि शिर मुक्तिनाथ प्रवेशद्वार बेनीबजार र म्याग्दी नदीमा रहेका छन् यिनै कारणले गलेश्वरको महत्व रहेको छ।
बाग्लुङ कालिका मन्दिर क्षेत्र :
बाग्लुङ कालिका मन्दिर, बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिकाको दक्षिण पूर्व अवस्थित कालिका मन्दिर ऐतिहासिक हो। यो मन्दिर पर्वतका राजा प्रतापी नारायण मल्लको विवाह पाटनका राजा मुडी मुकुन्द सेनको छोरीको विवाह हुँदा, छोरीले माझकी देवीलाई दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याई यसै ठाउँमा स्थापना गरी पाठ पूजा गर्ने प्रचलन छ ।
बाग्लुङ कालिका भगवती मन्दिरमा वर्षको दुईपटक बडा दशैं र चैत्रे दशैंमा नियमित पूजा र बोका, राँगा, कुखुरा, परेवा, सुंगुरहरूको पञ्चवली चढाइन्छ। कालिका मन्दिर परिसरमा पाँचवटा सतल हरु मन्दिरको वरिपरि भित्तामा १४ वटा परस्तर मूर्ति र १०८ वटा तामाका दियाहरु राखी पाठ पूजा गर्ने ,खण्ड अखण्ड कीर्तन गर्ने श्रद्धालु भक्तजन जागराम बस्ने गर्दछन्।
विशेषगरी, यस बाग्लुङ कालिका भवानी मन्दिरको रोचक विषय के छ भने ११ फिट लम्बाई १० फिट चौडाई भएको मण्डप भित्र भूगर्भमा भगवतीको मूर्ति सिधा आँखाले हेर्न नसकिने हुँदा स्थापनाकालदेखि नै जमिनमुनि राखिएको छ मन्दिरको चार दिशामा चार क्षेत्रमध्ये खोलिँदैन तर खोलेमा नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भनाइले बन्द रही आएको छ ।
सेतीबेणी शालिग्राम धाम क्षेत्र :
पर्वत स्याङ्जा र गुल्मीको संगमस्थलमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीलाई क्षेत्र सेदी बेडी शालिग्राम धाम भनिन्छ। शालिग्राम शिलालाई दाहिने पारी बग्ने कालीगण्डकी नदी भएको हुँदा शालिग्रामको पूजाआजा गर्ने गरिएको छ। यस शिलाशालिग्राम विश्वको प्रसिद्ध नाम हो।
धार्मिक मान्यता अनुसार यस शिला शालिग्रामलाई श्रद्धालु भक्तजनहरूले विष्णु भगवानको अवतारको रुपमा पुछ्ने गर्दछन्। यहाँ राधाकृष्ण मन्दिर, धर्मशाला, संस्कृत पाठशाला, शिव मन्दिर लगायत आदिको दर्शन गर्न पाइन्छ। विशेष गरेर यस ठाउँमा ठूला एकादशी माघे संक्रान्ति वैशाखे संक्रान्ति हरूमा मेला लाग्दछ।
रुरु क्षेत्र रिडी धार्मिक स्थल क्षेत्र :
रुरु रिडी खोला कालीगण्डकी नदीको किनारमा रहेको गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रहेको छ। प्राचीन कालमा रुरु क्षेत्र पौराणिक नाम भएकाले यसलाई रिडी भनिन्छ ।दामदर कुण्ड सिर र गण्डक मुक्ति क्षेत्र संगमबाट बगी आएको कालीगण्डकी नदीको दोभान रुरु क्षेत्रमा स्नान गरेपछि पापहरु पखालिन्छ भन्ने धार्मिक मान्यता रहेको छ
प्राचीन कालमा देवतत्त नाम गरेका ब्राह्मण कालीगण्डकी नदीको किनारमा कठोर तपस्या गरेको देखेर देवराज इन्द्र ससंकित भई प्रहम वमलोचा नामको अप्सरालाई तपस्याभङ्ग गर्न पठाए ध्यानबाट उपर भई यताउति जाँदा खेलिरहेकी प्रथम लोचनालाई सुन्दर देखे। तत्पश्चात् उनको अत्यन्त मोहित पार्ने सुन्दरताले गर्दा मोहित भई विवाहको प्रस्ताव राखेर दुवैजना विवाह बन्धनमा बाँधी सुखमा बिलिन भए। प्रहमाचो प्रहामा लोचाले एउटा कन्याको जन्म दिएकी थिईन्। बच्चालाई त्यही आश्रममा छोडी स्वर्ग गइन्। दिनदत्तले यो कुराको वास्तविकतालाई बुझी वैरागी हुँदै, उनी उत्तरतिरको भिर्गु आश्रमतिर लागे। भगवान शिवको कठोर तपस्या गर्न थाले। उनको कठोर तपस्या देखि भगवान शिव प्रसन्न भई जसले कालीगण्डकी नदीको स्नान गरी शिवलिङ्गको दर्शन गर्ला उसको सिद्धि प्राप्त गर्नेछ भनी भगवान शिव अन्तर्ध्यान भई, देवतत्त ब्राह्मणले शिवबाट आशीर्वाद पाई आफू मुक्त भएको अनुभव गरे।
प्रहमा लोचाबाट जन्मेकी कन्यालाई मृगले दूध पिलाई हुर्काएको कारणले तिनको नाम रु रु कन्या रहन गयो रु रु कन्याले कठोर तपस्या गर्न थालेको देखि नारायण भगवानले भन्नुभयो जसले यहाँ स्नान गरेर तीन दिन रही चतुर हुन्छ भनी अन्तर ध्यान हुनुभयो। त्यसैले गर्दा यहाँ तीन संक्रान्ति मेला लाग्दछ। यसरी भगवानको आशीर्वादले रुरु क्षेत्र भनी हिन्दू जगत प्रसिद्ध भयो। यहाँ धार्मिक दृष्टिकोणले चारवटा धार्मिक क्षेत्रहरू रुरु क्षेत्र बराह क्षेत्र पशुपति क्षेत्र र मुक्ति क्षेत्र मध्ये यो पनि एक हो। यस क्षेत्रमा राधाकृष्ण मन्दिर ऋषि केशको मन्दिर धार्मिक संस्कृत पाठशाला लगायत अन्य मन्दिरहरू रहेको छ। त्यसैले रुरु क्षेत रिडी लाई धार्मिक हिसाबले महत्वपूर्ण मानिएको छ।
रामदी धाम क्षेत्र
रामदी धाम सिद्धार्थ राजमार्ग कालीगण्डकी नदीमाथि स्याङ्जा र पाल्पा जिल्लाको संगम स्थल प्रसिद्ध रामदीपुल रहेको छ। रामदी धाम उत्तरबाहिनी कालीगण्डकी महात्माको संगम स्थलको रुपमा वर्णन गरेको पाइन्छ। यस ठाउँमा ऋषि मार्कण्डले भगवान शिवको तपस्या गर्दा शिवजी प्रसन्न भई विशाल ज्योतिर्लिङ्ग स्वरूप प्रकट भएको र वरदान दिएको हुनाले मार्कण्डे ऋषिको तपोभूमि भन्ने किम्बदन्ती भनाइ पाइन्छ।
रामधि धाम एक शान्त र आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण तीर्थहरू मध्ये एक ऐतिहासिक तीर्थ हो। यहाँ ऐतिहासिक राधाकृष्ण मन्दिर, शिव मन्दिर, धर्मशाला, गौशाला, वृद्धाश्रम, सिद्ध बाबा मन्दिर लगायतका मठ मन्दिरहरू रहेका छन्। पौराणिक किम्मदन्ती अनुसार द्वापर युगमा श्रीकृष्ण तीर्थ युगमा भगवान रामसमेत आई केही दिनपछि तपस्या गरेको हुनाले यस ठाउँलाई रामदी भन्ने भनाइ छ ।
देवघाट क्षेत्र
देवघाट तनहु, नवलपरासी र चितवन जिल्लाहरूको देवघाट गाउँपालिका, गैंडाकोट नगरपालिका र भरतपुर महानगरपालिकाको सिमानामा अवस्थित उत्तरमा त्रिशुली र कालीगण्डकीको पवित्र संगम स्थल ऐतिहासिक धार्मिक सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण भएको पुण्यभूमि देवघाट धाम हो।
यहाँको हरिहर सन्यास आश्रममा संस्कृतमा आध्यात्मिक तहको अध्ययन केन्द्र ,गलेश्वर धाम, गलेश्वर आश्रम, सीताराम मन्दिर,र संंकेश्वर पशुपति मन्दिर आदि धेरै मठ मन्दिरहरु रहेका छन्। प्राचीन कालमा अद्यका राजा रामचन्द्रका गुरु वशिष्ठले तपस्या गरेको ठाउँ वशिष्ठ गुफा रहेको छ। राम बनवास जाँदा सीतालाई यही ठाउँमा लुकाई राखिएको भन्ने धार्मिक किम्मदन्ती छ। वैशाखी संक्रान्ति, माघे संक्रान्ति, ठूला एकादशी र बाला चतुर्दशीको समयमा ठूलो मेला लाग्दछ
श्री स्वस्थानीको व्रतकथाको महिमा अनुसार देवताहरूका देवताहरू अप्सराहरू यस देवघाट प्रयागमा स्नान गर्न आउँछन् भन्ने भनाइ पाइन्छ ।यसरी देवता र अप्सराहरुले स्नान गर्दा यसको महिमा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने भनाइले गर्दा देशविदेश लगायत विश्वका धार्मिक भक्तजनहरु आउने गर्दछन्। माघ शुक्ल पूर्णिमादेखि माघ महिनाभरि ध्यान गरी बसेमा आजसम्म गरेका पापहरू सबै नष्ट हुन्छ भन्ने शास्त्रीय मान्यता रहँदै आएको छ।
यहाँ विशेष गरेर देवघाट भित्रमा, ठूलाठूला अनुष्ठान होम हवन निरन्तर चलिरहेको हुँदा यहाँको वातावरण विशेष गरेर रमणीय स्वच्छ रहेको पाइन्छ ।विशेष गरेर प्रसार प्रचार गर्न सके विभिन्न दृष्टिकोणले संसारका भक्तजनहरू लाई ल्याउन सके अर्कै यस ठाउँको समृद्धि र धार्मिक महत्व बढ्नेछ।
त्रिवेणी धाम क्षेत्र :
त्रिवेणी धाम लुम्बिनी नवलपरासी जिल्ला सुस्ता गाउँपालिका अवस्थित नेपालको हरिद्वार भनेर चिनिने नारायणी तमसा र सोन भद्रगरी तीनवटा नदीको संगमलाई त्रिवेणी भनिन्छ। यस धाम आस्थाको केन्द्र धार्मिक भक्तजनहरुले विश्राम लिने प्रमुख धाम हो।
स्कन्द पुराणको हिमवत खण्ड महात्मामा कथाका अनुसार प्राचीनकालदेखि नै सीताको कुटी र उनले प्रयोग गर्ने इनार बाल्मिकी आश्रमको वर्णन गरेको पाइन्छ। यहाँ गजेन्द्र मोक्ष ,राधाकृष्ण मन्दिर, नागबाबाकुटी, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वैकटेश्वर मन्दिर, कोटीहोम, य,ज्ञशाला ,गजेन्द्र मोक्ष, गजग्रह, नरदेवी स्थल, अष्टलक्ष्मी मच्छ्य केन्द्र बराह नरसिंह, सनी अवतार, कोटीहोम यज्ञशाला, संस्कृत पाठशाला, बाल्मिकी आश्रम र हनुमान गरुड आदिको दर्शन गर्न पाइन्छ। यस धाममा श्रीमुक्तिनाथ पिठ वेद विद्या आश्रम विषयमा पठनपाठन समेत गराइन्छ ।यहाँ धार्मिक रूपमा स्नान उपनयन कर्णभेदन, पितृ तर्पण, चुडाकर्म, श्राद्ध, अन्नप्राशन लगायत संस्कारहरू पूरा गर्ने स्थानको रूपमा यही तीर्थ त्रिवेणी धामलाई नै लिने गरेको पाइन्छ। यहाँ स्वर्गबाट देवता र अप्सराहरू समेत स्नानको लागि आउने गर्दथे भन्ने जनविश्वास रहेको पाइन्छ ।
त्रिवेणी धाम मोक्षस्थललाई सुवर्णभद्रा र पूर्णभद्रा नारायणी संगम स्थल रहेको हुँदा ठूलो धार्मिक पर्यटकीय मेला लाग्दछ। विशेष गरेर कुम्भ मेला ,राम नवमी, कार्तिक मेला, व्यास पूर्णिमा, घटहोली र बुद्ध जयन्ती का अवसरमा ठूलो मेला लाग्दछ। त्रिवेणी पवित्र नदी मा स्नान गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले गर्दा धार्मिक विश्वासको केन्द्रमा रहेका देशी विदेशी भक्तजनहरू श्रद्धालुहरु को ठूलो घुइँचो हुने गर्दछ ।
अन्त्यमा गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी नेपालको ठूलो नदी मध्य एक हो। हिमावत क्षेत्र अन्नपूर्ण हिमाल, धौलागिरी हिमाल, निलगिरी हिमालद्वारा पग्ली आउने पानी भएको हुँदा कालीगण्डकी नदी उत्पत्ति भएको हो। धार्मिक पर्यटकीय हिसाबले यस नदीको दाया बायाँ रहेका दामोदर कुण्डहरू र अरु सानसाना कुण्डहरू मुक्तिनाथ १०८ धाराहरुबाट मनोरक प्राकृतिक सुन्दरताले हेर्दै बग्ने पवित्र नदी कालीगण्डकी नदी हो। यस नदीले छाङछाङको सुसेली बजाउँदै कागबेनी, जलेश्वरधाम क्षेत्र, बाग्लुङ कालिका, रुरु क्षेत्र रिणी, रामजी धाम क्षेत्र लाई कुनै ठाउँमा दायाँ कुनै ठाउँमा बायाँ काखमा राखी बग्ने नदी भएकाले यसको महत्व रहेको छ।
यहाँ उल्लेखित धार्मिक तीर्थ क्षेत्रहरूलाई संरक्षण र सम्बर्धन गरी विश्वसामु प्रचारप्रसार धार्मिक तथा प्राकृतिक मनोरञ्जन र मनोइच्छा भएका मानिसहरूलाई भित्र्याउन सकेमा गरी खाने युवा युवती विदेश पलायन हुने अवस्था आउने थिएन। त्यसैले सुखी नेपाली समृद्ध देश बनाउन नारामा मात्र सीमित नराखी कल कारखाना, उद्योग धन्दा रोजगार सिर्जना गरी सही ठाउँमा लगानी लगाई धार्मिक तथा प्राकृतिक पर्यटकीय विकास गर्न सकेमा नेपाल र नेपालीहरूको आर्थिक सामाजिक र सांस्कृतिकको समृद्धि हुन्छ।










