
पोखरा । भाेलिदेखि पोखरा-१९, चुरुङ्गास्थित गौरीशङ्कर ब्रह्मविद्यापीठ परिसरमा हुने नवनिर्मित श्रीदुर्गा मन्दिरको प्रतिष्ठा उद्घाटन तथा श्रीमद्भागवत नवाह ज्ञानमहायज्ञकाे तयारी पूरा भएकाे छ ।
आगामी २५ गतेसम्म सञ्चालन हुने महायज्ञकाे तयारी पूरा भएकाे मूल आयाेजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।
महेश आश्रम सन्यासका पीठाधिश तथा गौरीशङ्कर ब्रह्मविद्यापीठ, महायज्ञका मूल व्यक्तित्व तथा १००८ स्वामी रामानन्द गिरी महाराजले भाेलिदेखि शुरु हुने श्रीमद्भागवत नवाह ज्ञानमहायज्ञ मनाेरञ्जन गर्नकाे लागि नभई आध्यात्मिक चेतनाकाे ज्ञान श्रवण गर्नकाे लागि आयाेजना गरिएकाे बताए ।
उनले श्रद्वालु भक्तजन मन र देवीकाे कृपाले छाेटाे समयमै १३ गजुरयुक्त श्रीदुर्गा मन्दिर करिब रु. २ करोडको लागतमा निर्माण गर्न सफल भएकाे उल्लेख गरे ।
उनले भने-‘मन्दिरमा भूमिगत गर्भगृह तथा शक्ति आराधनाका लागि विशेष तान्त्रिक संरचनाले बनाईएकाे छ । जुन नेपालकै अन्य मन्दिरहरूमा विरलै छ ।’
उनले नवनिर्मित श्रीदुर्गा मन्दिर वैदिक परम्परालाई उजागर गर्दै शक्ति उपासना र आध्यात्मिक ऊर्जा सञ्चार गर्ने यो स्थल भविष्यमा धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनको एक महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरेका छन् ।
पाेखरा १९ का वडा अध्यक्ष तथा यज्ञ सम्पादन समितिका संरक्षक पुष्पेन्द्र पाण्डेले पाेखराका अरु धार्मिक पर्यटकीय हिसाबले जति महत्वपूर्ण र आकर्षित छन् । साेहि अनुसार दुर्गा मन्दिरलाई पनि पर्यटकीय आकर्षककाे केन्द्रविन्दु बनाउन सबैकाे साथ र सहयाेगकाे आवश्यकता रहेकाे बताए ।
उनले भने-‘पाेखरा आउने जाेकाेहि पर्यटक जसरी पुम्दिकाेट,स्तुपा अनि सराङकाेट पुग्नुहुन्छ, यसैगरी पर्यटकहरुलाई श्रीदुर्गा मन्दिरमा पनि पुग्नुपर्छ भन्ने हिसावले यस मन्दिरलाई प्रचारप्रसार गर्न जरुरी छ ।’
यज्ञ सम्पादन समितिका प्रमुख गुरु तथा महेश सन्यास पीठाधिशका प्राचार्य फडिन्द्र प्रसाद पौडेलले भाेलि विहान ८ वजे कलशयात्रासहित महायज्ञको शुभारम्भ गरिने बताए । उनका अनुसार आइतबारदेखि श्रीमददेवीभागवत नवाह ज्ञानमहायज्ञ एवं श्रीदुर्गा पाञ्चायन मन्दिर प्रतिष्ठा विधिवत रूपमा आरम्भ हुनेछ। चैत्र २५ गते मूर्ति प्राणप्रतिष्ठा, पूर्णाहुति एवं समापन समारोह सम्पन्न गरिनेछ ।
पाैडेलले धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महायज्ञ महत्वपूर्ण रहेको बताए । उनले महायज्ञमा महेश सन्यास पिठाधिश, देवघाटधामका परमपूज्य सन्त तथा आचार्यहरूको विशेष सान्निध्य रहने जानकारी दिदै मन्दिर निर्माणमा संलग्न सम्पूर्ण श्रद्धालु सहयाेगी मनहरुप्रति आभार व्यक्त गरे।
महायज्ञका प्रमुख अनुष्ठानहरूमा श्रीमद्देवीभागवत पाठपारायण, सप्तशती पाठपारायण, रुद्राभिषेक, ब्रह्मगायत्री हवन, वेदपाठ तथा विशेष आराधना कार्यक्रमहरू समावेश गरिएकाे यज्ञ सम्पादन समितिका महासचिव विकास गाैतमले जानकारी दिए ।
उनका अनुसार प्रत्येक दिन बिहान ६:०० बजे मण्डप पूजा, ८:०० बजे श्रीमद्देवीभागवत एवं श्रीदुर्गासप्तशती पाठपारायण, दिउँसो १२:०० बजे कथा प्रवचन, २:३० बजे विशेष सन्त उद्बोधन, ३:३० बजे आरती एवं प्रसाद वितरण, साँझ ७:०० बजे महात्म्यवाचन तथा भजनकीर्तनको कार्यक्रम हुने जानकारी दिए ।
मन्दिरकै परिसरमा रहेको गौरीशङ्कर ब्रह्मविद्यापीठ संस्कृत शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा परिचित छ। पौडेलका अनुसार यो विद्यापीठ नेपालका पुराना गुरुकुलहरूमध्ये एक हो, जहाँ वैदिक सनातन परम्पराअनुसार संस्कृत शिक्षाको गहन अध्ययन गराइन्छ।
यहाँ अध्ययन गर्ने विद्यार्थीहरू संस्कृत व्याकरण, वेद, उपनिषद्, ज्योतिष, धर्मशास्त्र, दर्शनशास्त्र लगायतका विषयहरूमा दक्षता प्राप्त गरी धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेका छन्।
विद्यापीठका विद्यार्थीहरूले निरन्तर २८ वर्षसम्म एसईई परीक्षामा प्रथम श्रेणीमा सफलता प्राप्त गर्दै आएका छन् । नेपालभर सञ्चालनमा रहेका २५० भन्दा बढी संस्कृत गुरुकुलहरूमध्ये गौरीशङ्कर ब्रह्मविद्यापीठलाई सर्वश्रेष्ठ गुरुकुलमध्ये एक मानिएकाे छ ।
उक्त विद्यापीठमा अध्ययनरत विद्यार्थीहरू वेदपाठ, कर्मकाण्ड तथा धार्मिक अनुशासनमा उच्च प्रशिक्षित हुँदै आएका छन्।