
पोखरा । जेष्ठ नागरिकको योगदानको सम्मान गर्दै कोदी शान्ति टोल विकास संस्थाले पोखरा-२२ मा जेष्ठ नागरिकलाई सम्मान गरेकाे छ ।
जेष्ठ नागरिकहरु समाजका मार्गदर्शक भएकाे भावनालाई आत्मसात् गर्दै संस्थाले जेष्ठ नागरिकहरूलाई खादा, सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेकाे हाे ।
सम्मानित जेष्ठ नागरिकहरूले समाजले आफ्नो योगदानलाई सम्झिएकोमा गर्व र हर्ष व्यक्त गरे। कतिपयले आफ्ना जीवनका अनुभवहरू बाँड्दै युवा पुस्तालाई अनुशासन, इमान्दारिता, परोपकार र सामाजिक सेवामा लाग्न प्रेरित गरे।
सम्मान कार्यक्रमसँगै संस्थाले नयाँ २०८२ काे शुभकामना आदन प्रदान गर्नुका साथै भित्तेपात्रो बिमोचन गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले समाजमा जेष्ठ नागरिकहरूको योगदानको महत्त्व औंल्याउँदै समाजमा सम्मान, सहकार्य र एकताको भावना कायम राख्न यस्ता कार्यक्रमहरूको भूमिका महत्त्वपूर्ण रहेके बताए । उनले भने-‘जेष्ठ नागरिकहरू हाम्रो समाजका अनुभवका धनुहरू हुन्, र उहाँहरूको मार्गदर्शनले हामीलाई प्रेरित गर्छ ।’
संस्थाका अध्यक्ष आशिष कुमार बरालले सहकार्य, मित्रता र सहयोगको भावना अझ मजबुत बनाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले समाजको सशक्तीकरणका लागि सबैलाई एकसाथ अघि बढनुपर्ने बताए । ‘जेष्ठ नागरिकहरूको सल्लाह र योगदानलाई उच्च सम्मान दिनु हाम्रो कर्तव्य हो।’-उनले बताए।
कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, टोल विकास समितिका सदस्यहरू, महिला समूह, युवा क्लबका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरू उपस्थित थिए।
जेष्ठ नागरिक सम्मान कार्यक्रमले जेष्ठ नागरिकहरूको खुसी र समाजमा बढ्दो सद्भाव बढाएकाे स्थानियले बताए । यो कार्यक्रम समाजमा सहकार्य, सम्मान र सामाजिक एकताको उज्ज्वल उदाहरण बनेको छ।