
पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सञ्चारकर्मीहरूमाथि भएका आक्रमण र पत्रकार सुरेश रजकको ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। महासङ्घका अध्यक्ष माधव प्रसाद बराल नेतृत्वको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा, पत्रकारको सुरक्षाको प्रत्याभूति, मृतक पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति, सञ्चारगृहमा पुर्याइएको क्षतिको भरपाई तथा घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि फौजदारी अभियोग चलाउन महासङ्घले माग गरेको छ। साथै, सञ्चारमाध्यमहरूमा भएको तोडफोड र पत्रकारहरूमाथिको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै महासङ्घले दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिएको छ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले ज्ञापनपत्र ग्रहण गर्दै पत्रकारहरूको माग तत्काल सम्बन्धित निकायमा पठाइने प्रतिबद्धता जनाए। साथै, पत्रकार सुरक्षाका लागि प्रशासन निरन्तर सतर्क रहेको बताए। उनले चैत १५ गतेको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक कदम चालिने उल्लेख गरे।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासङ्घ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, पूर्व अध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठ, महासङ्घ कास्कीका सचिव भुपाल गुरुङसहित महासङ्घमा आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।
महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका अघिल्ला घटनाहरूको पुनरावलोकन गर्दै दोषीहरूमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग पुनः आग्रह गरेको छ। यदि एक साताभित्र माग सम्बोधन नभए देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासङ्घले दिएको छ।
गत शुक्रबारको हिंसात्मक प्रदर्शनमा अन्नपूर्ण पोष्टको भवनमा आगजनी, कान्तिपुर टिभी र हिमालयन टिभीका कार्यालयमा तोडफोड, पत्रकार दिनेश गौतममाथि आक्रमण, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको घटनाले प्रेस स्वतन्त्रता गम्भीर संकटमा परेको महासङ्घले जनाएको छ।
नेपाल पत्रकार महासङ्घ कास्कीले पत्रकार सुरक्षाको प्रत्याभूति र प्रेस स्वतन्त्रताको संरक्षणका लागि सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेको छ।