सुजनलाई नेवाः मिसा पुचः को सम्मान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । अष्ट्रेलियामा बसेर शारीरिक सुगठन (बडिबिल्डिङ) मार्फत नेपालको नाम विश्वमाझ चिनाउने सुजन शिल्पकार पोखरामा सम्मानित भएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै देशको पहिचान उँचो बनाएको भन्दै उनलाई नेवाः मिसा पुचः कास्कीले आफ्नो ११औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो।

पोखरा न्युरोड स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेका सुजनलाई नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यले संयुक्त रूपमा फेटा, ट्रफी र पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका थिए। यो सम्मान समारोह आइतबार पोखरामा सम्पन्न भएको थियो।

सुजनले १६ वर्षको उमेरदेखि शारीरिक सुगठनमा आफ्नो यात्रा सुरु गरेका थिए। सन् २०१९ यता उनले आफ्नै खर्चमा विश्वका विभिन्न देशमा आयोजित नेचुरल बडिबिल्डिङ प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै ९० भन्दा बढी स्वर्ण पदक जितिसकेका छन्। अष्ट्रेलियाको ताज्मानिया च्याम्पियनदेखि नेचुरल विधातर्फ विश्व च्याम्पियनसम्मको उपाधि उनले हासिल गरेका छन्।

उनी सन् २०२५ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने प्रतिष्ठित नेचुरल ओलम्पिया प्रतियोगिताको तयारीमा जुटेका छन्। बडिबिल्डिङमा डब्लुएफएफ प्रो कार्ड प्राप्त प्रशिक्षकसमेत रहेका सुजन अष्ट्रेलियामा पर्सनल फिटनेस ट्रेनरको रूपमा कार्यरत छन्।

हाल घरविदामा पोखरा आएका सुजनलाई यो साता नेपालका विभिन्न संघसंस्थाले सम्मान गर्ने कार्यक्रम तय भएको छ। उनको सफलता र देशप्रतिको योगदानको कदरस्वरूप पोखरेली समुदायले उनलाई गर्वका साथ स्वागत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्