ऐतिहासिक श्री गण्डकी कोटिहोम: संकल्प सभा र मूल समिति गठन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ।

मानवसेवा फाउण्डेशनको आयोजनामा हुने यो महायज्ञलाई भव्य र सफल बनाउन आज संकल्प सभा सम्पन्न भएको छ। संकल्प सभामा सहयोगीहरूलाई सम्मान गर्दै आयोजकले कृतज्ञता व्यक्त गरेको छ भने विभिन्न व्यक्तिहरूले महायज्ञका लागि सहयोग राशिको घोषणा गरेका छन्।

संकल्प सभापश्चात् आयोजित पत्रकार सम्मेलनमा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्णमूर्ति जी महाराजले यो कोटिहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण, समृद्धि र गण्डकी क्षेत्रको धार्मिक पहिचानलाई उजागर गर्नु रहेको बताए । ।

उनले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमबारे जानकारी दिँदै यज्ञ र हवनको महिमा, गण्डकी क्षेत्रको महत्व र कोटिहोमको लक्ष्यबारे प्रकाश पारेका थिए । “यो महायज्ञले धार्मिक जागरणसँगै सामाजिक एकताको सन्देश फैलाउनेछ,” उनले भने।

महायज्ञलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजकले ८ वटा समिति गठन गरेको छ। जसमा मार्गनिर्देशन मण्डल, प्रमुख संरक्षक समिति, वरिष्ठ संरक्षक समिति, वरिष्ठ सल्लाहकार समिति, सल्लाहकार समिति, मूल आयोजक समिति, कानूनी सल्लाहकार समिति र ५ हजार १ सय १ सदस्यीय महायज्ञ मूल आयोजक समिति रहेका छन्। मूल आयोजक समितिमा संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्यहरू समावेश छन्। साथै, वैशाख ३ गते कोटिहोमस्थलमा भूमिपूजन र यज्ञकुण्ड निर्माणको कार्य सुरु हुने आयोजकले जनाएको छ।

४१ दिनसम्म निरन्तर हवन हुने यो महायज्ञमा भक्तजनहरूलाई घिउ, तिल, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर सहभागी हुन अनुरोध गरिएको छ। महायज्ञमा सुश्री अनुराधा पाण्डेय, देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज र सुप्रिया किशोरीले कथावाचन गर्नेछन्, जसले भक्तजनहरूलाई आध्यात्मिक ज्ञान र प्रेरणा प्रदान गर्नेछ।

महायज्ञबाट संकलन हुने रकमबाट खर्च व्यवस्थापनपछि बाँकी रकम पोखरा-१७ मा रहेका हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको संरक्षण र विकासमा प्रयोग गरिने योजना छ। यी मन्दिरहरूको समृद्धिले गण्डकी क्षेत्रको धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

मानवसेवा फाउण्डेशनले कोटिहोमपूर्वका विभिन्न कार्यक्रमको घोषणा गर्दै यो महायज्ञले स्थानीय समुदायमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेको छ। पोखरालाई धार्मिक गन्तव्यको रूपमा स्थापित गर्न यो महायज्ञ एउटा कोसेढुंगा सावित हुने आयोजकको दाबी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्