पोखरा १७ स्थित दुर्गा मन्दिरमा कोटी दीप प्रज्वलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा १७ स्थित दुर्गा मन्दिर शक्तिपीठ धाममा कोटी दीप प्रज्वलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

चैत्राष्टमीको पावन अवसरमा दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा राष्ट्र शान्ति, लोककल्याण, नवग्रह शान्ति, पितृ उद्धार र मन्दिरको श्रीवृद्धिका लागि यो विशेष धार्मिक अनुष्ठान गरिएको हो।

कार्यक्रममा वैदिक आचार्यहरूबाट सहस्र सप्तशती चण्डी मन्त्रजप, नवचण्डी पाठ, वेद पाठ, देवी महिमा प्रवचन, नवग्रह शान्ति पाठ र रुद्राभिषेक जस्ता धार्मिक कार्य सम्पन्न भए। योसँगै कोटी दीप प्रज्वलन र प्रसाद वितरणले कार्यक्रमलाई थप उल्लासमय बनायो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा अधिकारीका अनुसार शनिबार मुख्य दीप प्रज्वलन गरिएको थियो भने चैत्र १७ गते प्रतिपदाको दिनबाट प्राण प्रतिष्ठाको शुभारम्भ भएको थियो। चैत्र २१ गते विधिवत् तयारी पूरा गरी २२ गते पूर्वाङ्ग सम्पन्न भएको उनले बताए। यो अवधिमा १ करोड ६५ लाख दीप प्रज्वलन गरिएको जानकारी उनले दिए।

समितिका उपाध्यक्ष मोहन लाल पौडेलले ५ हजार १ सय भक्तजनबाट सहयोग सङ्कलन भएको उल्लेख गर्दै सबैको सहभागिता र सहयोगले कार्यक्रम भव्य भएकोमा कृतज्ञता व्यक्त गरे। “हाम्रो व्यवस्थापन समिति नयाँ सोच र उत्साहका साथ अघि बढिरहेको छ,” उनले भने।

पोखरा १७ र २२ को सिमाना छोरेपाटनमा अवस्थित यो मन्दिरको स्थापना २०३७ साल असार २४ गते भएको हो। स्वर्गीय रुद्रनाथ बराल र शशिधर बरालबाट प्राप्त जग्गामा तत्कालीन अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको पहलमा मन्दिर स्थापना भएको समितिले जनाएको छ।

यहाँ गणेश, सन्तोषी माता, रातो मच्छिन्द्रनाथ, १०८ शालिग्राम, १०८ शिवलिङ्ग, १०८ पिपल पुण्यधाम, सूर्य चक्र, शनिदेव शिला र विभिन्न देवी-देवताका विग्रहहरू स्थापना गरिएका छन्।

मन्दिरको मुख्य आयस्रोत भक्तजनको सहयोग, नवदुर्गा पूजा महोत्सव, शनित्रयोदशी विशेष पूजा, मंगलचौथी पूजा र शिवरात्रि पूजा रहेको समितिले बताएको छ। कोटी दीप प्रज्वलनमा भक्तजनको बाक्लो उपस्थितिले व्यवस्थापन समितिलाई थप हौसला मिलेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्