
पोखरा । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका प्रमुख अभियुक्त दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार, भारतीय प्रहरीको सहकार्यमा पक्राउ गरिएका प्रसाईंलाई नेपाल ल्याउन प्रक्रिया सुरु भएको छ। उक्त प्रदर्शनका क्रममा प्रहरीमाथि गाडीले हानेर भागेका उनी त्यसपछि हराइरहेका थिए।
तीनकुने घटनाले उग्र रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। आगजनी र तोडफोडका दृश्यले राजधानी तरंगित बनेको उक्त दिनपछि प्रहरीले प्रसाईंको खोजी कार्य तीव्र पारेको थियो।
यद्यपि, उनी सम्पर्कबाहिर रहे पनि सामाजिक सञ्जालमा भिडियोमार्फत आफू लुकेर नबसेको जिकिर गरिरहेका थिए। प्रहरीले उनको ठेगाना पत्ता लगाउन नसकेको भन्दै सर्वत्र आलोचना भएको थियो।
प्रदर्शन भड्किएपछि सहभागीहरूले हिंसात्मक बाटो रोजेका थिए। प्रहरीमाथि आक्रमणदेखि सवारी साधनमा आगो लगाउनेसम्मका घटनाले स्थिति तनावग्रस्त बनेको थियो।
प्रसाईंको पक्राउसँगै यो प्रकरणको अनुसन्धानले गति लिने विश्वास गरिएको छ। नेपाल फर्काइएपछि उनमाथि विस्तृत अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।