
पोखरा । पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुन गइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को तयारीले धार्मिक उत्साह छाएको छ। आगामी बैशाख ३ गते बुधबार बिहान यस महायज्ञको भूमि पूजन समारोह भव्यताका साथ सम्पन्न हुने भएको छ। मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा सञ्चालित यो महायज्ञले सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणको सन्देश बोकेको छ।
हाल चैत्र १७ गतेदेखि महायज्ञको पूर्वसन्ध्यामा विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। खासगरी, श्रीमद्भागवत कथा प्रवचन ले यहाँको वातावरण भक्तिमय बनेको छ। नेपालकी कान्छी भागवत वाचिका अनुराधा पाण्डेय ले चैत्र २९ गतेदेखि आफ्नो मधुर स्वर र गहिरो व्याख्यामार्फत भक्तजनलाई कथामा डुबाइरहेकी छन्। उनको प्रवचनले बूढापाकादेखि युवासम्मलाई आकर्षित गरेको छ।
आयोजकका अनुसार, बैशाख ३ गते हुने भूमि पूजनसँगै मूल यज्ञ कुण्ड खन्ने शुभ साइत पनि तय भएको छ। यो अवसरमा सहभागी भएर पुण्य लाभ लिन आयोजकले सम्पूर्ण भक्तजन, स्थानीयवासी र धर्मप्रेमीहरूलाई हार्दिक अनुरोध गरेको छ।
यो महायज्ञले धार्मिक एकताको सन्देशमात्र होइन, सामाजिक सद्भाव र मानव सेवाको भावनालाई पनि उजागर गर्नेछ। बिरौटाको यो पवित्र भूमिमा हुने महायज्ञले पोखरालाई आध्यात्मिक केन्द्रको रूपमा थप चिनाउने विश्वास गरिएको छ।